देश/प्रदेश

कुश्मा-बलेवा जोड्न कालीगण्डकी नदी माथि अग्लो पुल निर्माण सुरु

Banner

पर्वत, कात्तिक ५ –

पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि फेरि झोलुङ्गे पुल निर्माण सुर भएको छ । नदीभन्दा निकै उचाइमा लामा झोलुङ्गे पुलसँगै साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै गएको पर्वतमा फेरि अर्को पुल निर्माण सुरु गरिएको हो ।

कुश्माबजार र बागलुङको बलेवा जोड्ने पाँचौ पुलको निर्माण आइतबारदेखि सुरु भएको हो । कुश्माबजारस्थित वडा नं.५ मा रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका वडा नंं १४ नारायणस्थानको कुकुरगाढे जोड्नका लागि चार सय १५ मिटर लामो पुल निर्माण सुरु गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

यस अघि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बन्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् । बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०८३ साल पुस मसान्तसम्ममा पुल निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ ।

पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्नका लागि व्यवस्थापन गर्नुपर्ने पूर्वतयारी बारेमा निर्माण कम्पनीले अध्ययन सकेर धमाधम निर्माण सुरु भएको छ ।

अहिले कुश्मातर्फको भागमा जग खन्ने र अन्य पूर्वाधार बनाउने काम भइरहेको उहाँले बताउनुभयो । संघीय सरकारबाट विनियोजन भएको रु पाँच करोड २६ लाख ८० हजारको लागतमा उक्त पुल निर्माण हुनेछ । बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको ठूलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलहरूबाट सबैले लाभ उठाउन नसकिरहेको बेलामा स्थानीय आवश्यकताका आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

पुलको नजिकमा ठूलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी करिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकाले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उहाँको भनाइ छ । बलेवा बिमानस्थल नजिकै जोडिने यो पुलले बिमानस्थल सञ्चालनमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको स्थानीय कमल जिसीले बताउनुभयो ।

“विशेष गरी बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ को मध्य भागमा पर्ने, गाडीको गन्तव्य भएको, कुश्मा बजारको मध्य भागमा जाने भएकाले यो पुल निकै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो । अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको रु ८५ तिर्ने गरेका छन् भने बञ्जि पुलवाट दुईतर्फी रु १२० लाग्छ । यो पुल निर्माण भएपछि निःशुल्क रुपमा आवतजावत गर्न सकिने भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>