देश/प्रदेश

मोडर्न कन्या मल्टिपल कलेजले मनायो देवकोटाको ११७औँ जन्मजयन्ती

Banner

काठमाडौँ, कात्तिक ३ –

मोडर्न कन्या मल्टिपल कलेज, काठमाडौँले आज एक कार्यक्रम आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा कवितावाचन, सांस्कृतिक प्रस्तुति, विचार गोष्ठीलगायत विविध गतिविधि आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले महाकविको रचनाशैली, साहित्यमा देखिएको मानवीय भावना, सामाजिक चेतना र अन्तरराष्ट्रिय प्रभावको बारेमा टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “देवकोटाका रचनामा मानवता, प्रकृतिप्रेम र विद्रोहको भावना गहिरो रूपमा झल्किन्छ । उहाँको साहित्यले नेपाली साहित्यलाई मात्र समृद्ध बनाएको छैन, नेपाललाई अन्तरराष्ट्रिय मञ्चमा पनि चिनाएको छ ।”

विशिष्ट अतिथि वरिष्ठ साहित्यकार डा रामप्रसाद दाहालले देवकोटाको बाल्यकालदेखि लिएर जीवनको उत्तराद्र्धसम्मको साहित्यिक यात्रा तथा उहाँका केही चर्चित कृतिहरूको साहित्यिक समीक्षा गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्त, साहित्यकार रमेशमोहन भट्टराईलगायत वक्ताहरूले देवकोटाका कविता, निबन्ध, महाकाव्य तथा समालोचनात्मक लेखनको विविध पाटाहरूमा चर्चा गर्नु भएको थियो । उहाँहरू सबैले देवकोटा नेपाली भाषामा मात्र नभई विश्व साहित्यमा एक विलक्षण नाम रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कलेजका विद्यार्थीहरूले महाकविका प्रसिद्ध कविताहरू ‘पागल’, ‘मुनामदन’, ‘यतीपनि मर्छु भने कसरी बाँचुँ’ जस्ता रचनाहरूको वाचन गरेका थिए भने सांस्कृतिक प्रस्तुतिहरूमा नेपाली पहिचान झल्कने देउसी नृत्य तथा गायन प्रस्तुति देखाइएको थियो ।

कलेजका प्रिन्सिपल सगुन पोखरेलले कार्यक्रममा सहभागी सबै अतिथिहरूप्रति आभार प्रकट गर्नुहुँदै विद्यार्थीहरूलाई महाकविका आदर्श र साहित्यिक मूल्य–मान्यतालाई आत्मसात गर्न प्रेरित गर्नुभयो ।

मोडर्न कन्या मल्टिपल कलेजले प्रत्येक वर्ष महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्यिक गतिविधिहरू आयोजना गर्दै आइरहेको छ । यसपटकको जन्मजयन्ती कार्यक्रम अझ व्यवस्थित, समृद्ध र बहुआयामिक रूपमा सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा विसं १९६६ कात्तिक कृष्ण औँसी, अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मनुभएको थियो । उहाँले १० वर्षको उमेरमै कविता लेख्न सुरु गर्नुभएको थियो ।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमासमेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो ।

महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>