चितवन विशेष
चितवन राइनोजले भोलि ३ खेलाडी र ब्राण्ड एम्बासडरहर सार्वजनिक गर्ने

चितवन, कार्तिक ३–
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राइनोजले भोलि तीन खेलाडी सार्वजनिक गर्ने भएको छ । एनपीएल ट्रफी टुरको अवसर पारेर चितवन राइनोजले ३ खेलाडी आधिकारिक रुपमा सार्वजनिक गर्न लागेको हो ।
नारायणघाटस्थित क्याम्पाचौरमा विहान ९ बजे हुने कार्यक्रममा तीन खेलाडी र ब्राण्ड एम्बासडरहर सार्वजनिक गरिने क्लवका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिए । चितवन राइनोजको ट्रफी टुर विहान ९ बजेदेखि नै क्याम्पाचौरबाट सुरु हुनेछ । बाइक र्यालीसहित सुरु हुने ट्रफी टुर भरतपुरका विभिन्न ठाउँको परिक्रमा गर्दै पर्यटकीय क्षेत्र रत्ननगरको सौराहा पुगेर समापन गरिने छ । ‘राइड फर राइनोज’ नाम दिईएको उक्त र्याली क्याम्पाचौरबाट सुरु भई आँपटारी, पुलचोक, लायन्स चोक, सिएमसी, हाकिम चोक, गोन्द्राङ, निपनी, टाँडी हुँदै सौराहा पुगेर समापन हुनेछ ।
चितवन राइनोजले सबै चितवनबासीलाई सहभागिताका लागि आह्वान गरेको छ । बाइक र्याली एक सिंगे गैंडाको संरक्षण प्रति सम्मान र ऐक्वबद्धता प्रदर्शन गर्न लागिएको चितवन राइनोजले जनाएको छ ।
पूर्वको बिराटनगरबाट सुरु भएको एनपीएल ट्रफी टुर जेनजी प्रदर्शन पछि स्थगित गरिएको थियो । अहिले पुनः जनकपुरबाट ट्रफी टुरु सुरु गरिएको हो । जनकपुरबाट निस्किएको ट्रफी हेटौंडा हुँदै चितवन आइपुग्ने छ । यहाँबाट कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म ट्रफी टुर हुनेछ ।
























