कृषि

मनाङका किसानले भित्र्याए फापर बाली

Banner

मनाङ, असोज २८ –

मनसुनी वायु सकिएलगत्तै यहाँका किसानले फापर भित्र्याएका छन् । मनाङ गाउँ, पिसाङ, भ्राका, टङ्की मनाङलगायत क्षेत्रका किसानले मौसम सुधार हुनासाथ यहाँको रैथाने बाली भित्र्याएका हुन् ।

हतारमै फापर थन्क्याइएको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका भुजुङ गुरुङ बताउनुहुन्छ । “फेरि मौसम बदली हुने हतारोले अहिले राम्रोसँग काट्ने बेला नहुँदै फापर काटियो । यस वर्ष विगतमा भन्दा अलि छिटो चिसो पनि बढेको छ”, उहाँले भन्नुभयो, “मौसम सफा हुनासाथ थन्क्याइएको हो ।”

वर्ष दिनमा एक बाली मात्र उत्पादन हुने मीठो फापर भित्र्याइएको उहाँले जानकारी दिनुभयो । पिसाङका खेतबारीमा फापर छरेको दिनदेखि औसत सय दिनमा मीठो फापर पाक्ने र घाम लागेको मौकाछोपी बाली भित्र्याइन्छ ।

घाँस नपाइने समयमा फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन सुकुटी पारेर राखिने गरिन्छ । मनाङको प्रमुख खाद्य बालीका रूपमा रहेको फापर जलवायु सङ्कटका कारण परम्परागत अन्य रैथाने बालीभन्दा कम झन्झटिलो भएकाले यहाँका किसानले बढी खेती गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले जानकारी दिनुभयो ।

एक पाथी फापरको रु एक हजार २०० सम्म बिक्री गर्न सकिने चामे गाउँपालिका–५ चामेका उद्यमी शेराप विष्टले बताउनुभयो । फापरसँगै यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत खेती यहाँको मुख्य बाली हुन् । मीठो फापरको खेती असार–साउनमा छरेर असोजको दोस्रो–तेस्रो साता भित्र्याइन्छ । तीतो फापर भने साउन–भदौ महिनामा छरेर कात्तिकको १५ पछि भित्र्याइने गरिन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>