Breaking News

नारायणघाट–मुग्लिन सडक खण्ड र फिस्लिङमा पहिरो, पन्छाउन सुरु

Banner

चितवन, असोज १९–

लगातारको वर्षासंगै नारायणघाट–मुग्लिन सडक खण्डका विभिन्न ठाउँ र पृथ्वी राजमार्गको फिस्लिङलगायतका ठाउँमा पहिरो खसेको छ । ठाउँ–ठाउँमा पहिरो खसेपछि अहिले पहिरो पन्छाउने कार्य सुरु भएको छ ।

नारायणघाट–मुग्लिन सडक खण्डको तुईन खोला र काली खोलामा पहिरो खसेको छ । पहिरोले कालीखोलाको एउटा पुल पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार फिस्लिङ देखि उत्तर खण्डमा समेत स–साना पहिरो तथा ढुङ्गा खसेर बाटो अवरोध छ । ती सबै ठाउँका पहिरो हटाएपछि छिमेकी जिल्लाको अवस्था हेरेर हिजो साँझदेखि रोकिएका सवारी साधनहरुलाई गन्तव्यमा पठाइने प्रहरी प्रमुख पुरीले जानकारी दिए । प्रहरीका अनुसार धादिङ, तनहुलगायतका छिमेकी जिल्लाका सडक खण्डहरुमा समेत पहिरो रढुंगा खसेर बाटो अवरोध भएको र त्यहाँ पनि पहिरो हटाउने कार्य भइरहेको छ । ती सबै ठाउँको पहिरो हटाएपछि सवारी साधनलाई छाडिने छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ ६ बजेदेखि नै चितवनबाट बाहिरिने र भित्रिने सबै प्रकारका सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको थियो । त्यसबीचमा रोकिएका सबै सवारी साधनहरुलाई आज अवस्था हेरेर गन्तव्यमा पठाइने छ । हिजो चितवनमै रोकिएका यात्रुहरुलाई चितवन प्रशासनले सहुलियत दरमा होटलहरुमा बस्ने व्यवस्था मिलाएको थियो । होटल व्यवसायी संघ चितवन, क्षेत्रीय होटल संघ सौराहालगायत सरोकारवाला पक्षसंग बैठक बस्दै अलपत्र यात्रुहरुलाई ७५ प्रतिशत छुटमा बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको थियो ।

यसरी अलपत्र परेका करिव ४ सय यात्रुहरु भरतपुर, मुग्लिन, रत्ननगरका विभिन्न होटलहरुमा बास बसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख पुरीले जानकारी दिए । प्रहरीले २५ प्रतिशत शुल्क लिन पाउने सहमति भएकाले सो भन्दा बढी शुल्क लिए कालोबजारी ऐन अन्तरगत रहेर कारवाही गर्ने चेतावनी दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>