राजनीति
भ्रष्टाचारले नेपाल खाइसक्योः विप्लव

बुटवल, भदौ १२
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भ्रष्टाचारले नेपाल खाइसकेको बताएका छन् । सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै विप्लवले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको विषय आएको भन्दै चिन्ता व्यक्त गरे ।
‘यस्तै घुस र भ्रष्टाचारका घटनाहरू अन्य धेरै क्षेत्रमा भएका छन्, बाहिर आइरहेका पनि छन्’, विप्लवले भने । उनले उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठले न्यायालयमा पैसाविना केही नहुने भनेर दिएको अभिव्यक्तिले देशको अवस्था झल्काएको उल्लेख गरे ।
विप्लवले मुलुकमा देखिएको वर्तमान समस्या दलाल पूँजीवादी संरचना भएको बताए । उनले नेपाली राजनीति गणतन्त्र प्राप्तिपछि कुन वर्ग, कुन विचार र कुन नेतृत्व भन्ने टुंगोमा नपुग्दा आएको बताए । विप्लवले गणतन्त्रसम्मको परिवर्तनलाई आत्मसाथ गर्दै यसपछिको नेतृत्वको पुनर्गठन जरुरी रहेको उल्लेख गरे । उनले नेपाली समाजलाई अगाडि बढाउन सच्चा, इमान्दार कम्युनिस्ट पार्टीले नै नेतृत्व गर्नुपर्ने बताए । ‘आजको संकटको कारण गणतन्त्रको अर्थतन्त्रमा परिवर्तन नआउनु हो’, विप्लवले थपे ।
उनले वर्तमान संकटबाट समाधान गर्नका लागि आफूहरूले एउटा बहसको थालनी गरेको बताए । उनले आफूसहित तीन जनाले काठमाडौंमा बहस गरेपछि देशभर तरंग पैदा गरेको बताउँदै बुटवलको यो छलफललाई पनि चासोका साथ हेरिएको उल्लेख गरे । ‘यो बहस के हो ? नयाँ पार्टी बनाउने हो कि ? भनेर जिज्ञासा राखेको पाइन्छ’, विप्लवले भने, ‘यो यति हो भनेर भन्न सकिँदैन, ८–१० वटा अन्तरक्रियापछि सकिन पनि सक्छ ।’
उनले अहिलेको बहस व्यक्तिको नभई मुलुकको आवश्यकताले सृजना भएको सुनाए । उनले नेपालको कम्युनिस्ट आन्दोलन दिग्भ्रमित भएकाले दिग्दर्शन गर्नका लागि आफूहरूले छलफलको शुरूआत गरेको बताए । विप्लवले एकता, उज्यालो र श्रमिक जनताको चाहनाको बाटो पहिल्याउने अन्तरक्रिया भएको बताए । उनले नेपाली विशेषताको समाजवाद आवश्यक रहेको समेत बताए ।
























