राजनीति

विद्या भण्डारीबारे प्रधानमन्त्रीले बोल्दै नबोलेका कुरा बाहिर ल्याएको देखियो

Banner

काठमाडौं, भदौ १२-

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्दै नबोलेका कुरा बाहिर ल्याइएको देखिएको बताएको छ।

ओलीले बालुवाटारमा बुधबार साँझ काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीको सचिवालयले आज (बिहीबार) बिहान विज्ञप्ति निकालेर विद्याबारे प्रधानमन्त्रीले बोल्दै नबोलेका कुरा बाहिर ल्याएको देखियो बताएको हो ।

यस्तो छ ओलीको सचिवालयले जारी गरेको प्रेस नोट:

काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलबारे

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना र समाचारका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको छ।

उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक थिएन, काठमाडौं उपत्यकामै हुने विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौंका महाधिवेशन प्रतिनिधिसँग अनौपचारिक भेटघाट मात्र थियो।

भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको थियो। काठमाडौंका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरू स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ।

भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राख्नुभएको थियो।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरू नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुुभएको थियो, ‘पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत रूपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरूअरू पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो।

यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो। उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न। नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन। नेतृत्व क्षमता चाहिन्छ। परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ।

उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ। हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुपर्ने हुन्छ। त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ। तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ। उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुुपर्छ, उल्काउनु हुँदैन।’’

अतः उक्त भेटघाट कार्यक्रमका सम्बन्धमा सत्य तथ्य बुुझेर मात्रै सम्प्रेषण गर्न हुन सम्बन्धित सबैमा आग्रह गरिन्छ।

– प्रधानमन्त्रीको स्वकीय सचिवालय

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>