विचार/ब्लग
दरको रौनक र गाउँको स्मृति

सनद अधिकारी-
भनिन्छ तिज महिलाहरुको चाड हो । महिलाहरु तिजको दिन निराहार ब्रत बस्नका लागि अघिल्लो रात दर खाने गर्दछन् । ब्रत बसेको दिन पेट दरो बनाउनका लागि खाने भनेर दर भनिएको होला । मैले यही सोच्छु तर, अर्थ अरुपनि होलान् । स्थानअनुसार दरमा खाने परिकार फरक फरक होला तर, हाम्रो गोरखातिरको भने दुध–घिउलाई मिठो र मसिनो परिकारसँग जोडेर खानु विशेष परम्परा हो ।
म जन्मेको घर गोरखा जिल्लाको हंसपुर (अजिरकोट–३) मा पर्दछ । त्यहाँ म जन्मेर हुर्केको घरकोे ढुंगा, माटो र काठको संरचना मात्र थिएन । त्यो मेरो बाल्यकालको संसार थियो । जहाँ हाँसो, खेल, गीत र बाल्यकालमा मनाएका चाडहरू रमाइलो फन पार्क जस्तै जीवन्त थिए ।
आज म तिजको दरसँग जोडिएका, मेरो बाल मस्तिष्कमा कैद भएका धमिला सम्झनालाई अक्षरमा उजागर गर्दैछु । दर खास आमा, हजुरआमा, फुपु र दिदीहरूको लागि भएपनि हाम्रो परिवारमा सबैले उतिकै महत्वका साथ खाने गथ्र्यौँ । साँझ अलि छिटै खाना खाएर रातिको लागि दर पकाइन्थ्यो । यो केवल हाम्रो घरमा मात्र होइन, वरपरको गाउँमै रौनकका साथ हुन्थ्यो—सायद हाम्रो घर जस्तो । खास दर त्यो हो जुन दर खाने दिन भनेर तोकिएको दिन खाइन्छ । अहिलेजस्तो एक महिनादेखि जहाँ जहाँ जे खाएपनि दर भन्ने चलन त्यतिबेला थिएन ।
तीज आउनु अघिल्लो सातादेखि नै गाउँमा फरक किसिमको उत्साह छाउँथ्यो । खेतमा हरियो धानका पात हल्लिरहेको हुन्थ्यो । खोला र कुलो सुस्साउँदै बग्थे । धान खेत गोड्दै गर्दा होस वा घाँस काट्दै गर्दाहोस् आमाहरु तिजकै बारेमा गित गाउने र बात मार्ने गर्दथे । घरबाट पारीतिर देखिने लमजुङको बिचोरहुँदै इलामपोखरीसम्मको फाँट र माथितिर देखिने हिमाल कुइरोले ढाकेको दृश्यले अहिले पनि पर्यटक तानिरहेको छ ।
एर्क–दुई दिनअघिनै घरको गाई वस्तुको गोठका आडमा घाँसको भारी बढी हुन्थ्यो । तिजका दिन बिदा मनाउन जस्तै काम सकेर फुर्सद मनाउन सबै तयार भएका देखिन्थ्ये । नजिकका बारीमा रहेको कलिलो घाँस सप्रिएको हुन्थ्यो । जुन तिजका भैसी दुहुनका लागि राखिन्थ्यो । खलनमा लटराम्म फलेका काँक्रा, घिरौँला र चिचिन्नाले घरमा मगमग बास्ना छरेका हुन्थ्ये । साउनमा फुटेका मुलबाट बनाइएको धाराको पानीको कलकल आवाज सुन्दा मन फुरुङ्ग हुने । बारीमा सकिँदै गरेका नासपाती र पाक्न थालेका दुई–तीन वटा अम्बाले हाम्लाई जिस्क्याउने गर्थे ।
हजुरबाको अनुहार हामीले देख्न पाएनौं तर, हाम्रो लागि हजुरआमा नै दुवै हुनुहुन्थ्यो । तिज नजिकिँदै गर्दा उहाँलाई दरको तयारीले छुन्थ्यो । हाम्रो घरमा लैनो–बर्केना भैसी हुन्थ्यो र चियाको पारखी हजुरआमाको हातको चिया पिउन गाउँलेहरू आइरहन्थे । हाम्रो घरमा चहलपहल भैरहन्थ्यो । हामी उहाँलाई ‘आबोइ’ भनेर बोलाउँथ्यौँ ं। सायद प्रायः साउनमा भैँसी ब्याउने सिजन हुन्थ्यो । भर्खरै ब्याएको लैनो भैसीको दूध र घिउ घरमा चेपेखोला जस्तै बग्थ्यो(उल्लेख्य नै थियो) । त्यसैले हजुरआमालाई दरको लागि मुख्य सरदम जुटाउने चिन्ता कहिल्यै भएन । तिजका लागि झिनुवाको चामल २–४ दिन अगाडि नै ढिकीमा कुटेर आमाहरूले ल्याएर निफोनेर राख्नुहुन्थ्यो । आलुसँग मिलाउने तामा र निगालेको टुसा ल्याउने जिम्मा बाको हुनथ्यो ।
हाम्रो घरमा दर खाने तयारीले बेग्लै रौनक ल्याउँथ्यो । आबोइले सधैँ दर पकाउने जिम्मेवारी लिनुहुन्थ्यो । उहाँलाई सहयोग गर्न आमा र कान्छी फुपु तयार हुनुहुन्थ्यो । दर खाने रातको तयारीले घर नै चहलपहलमय बन्थ्या । जसमा सबै ठूला–मान्छेहरू व्यस्त देखिन्थे । दर खाने दिन मलाई अझै सम्झना छ—काँक्रो, करेला र कर्कलाको अचार, घिरौला, बाले सिरानडाँडाबाट ल्याउनुभएको आलु अनि लेकबाट ल्याउनुभएको निगालोको टुसा । ती तरकारीको स्वाद र घरभरि पस्ने मसिनो झिनुवाको वास्नाले छुट्टै माहोल खडा गथ्र्यो । कुँडेमा भकभक उम्लिरहेको दूधको सुगन्ध, ताइको घिउ थुर्पीले चलाउँदा आएको वास्नासँग मिसिँदा घर नै अत्तरमय बनेको महसुस हुन्थ्यो ।
तीजको लागि भनेर अलि परको गाउँबाट ठूली फुपु एक दिनको बाटो हिँडेर आउनुहुन्थ्यो । उहाँसँगै भान्जी–दिदीहरू र भाइहरू पनि आउने गर्थे । बाटोमा भेटिएका मान्छेहरूको कुरा फुपुहरूले सुनाउँदा घरै रमाइलो हुन्थ्यो । मलाई त झन् ठूलो उत्साह लाग्थ्यो, किनकि म घरमा कान्छो थिएँ र दाइ–दिदीहरू पनि फुपुका ती रमाइला कुरा सुन्न उत्साहित हुन्थे । फुपुले ल्याउनुभएको केरा र अम्बाको वास्नाले झोला नै मुस्कुराइरहेजस्तो लाग्थ्यो ।
फुपु आउनासाथ उहाँका माइती साथी–संगीहरूको खोजी गर्न थाल्नुहुन्थ्यो । अलि लेग्रो तानेर बोल्ने फुपुले आबोइसँग सोध्नुहुन्थ्यो—‘माथिल्लो घरकी मिठी–माइली आइसकेर? तलकी दमन्ती यसपाली आउन क्यार्छिन कि?… अनि मास्टर्नी भाउजूहरू माइत गएकी गएनन् होला नि, नगएको भए भोलि त झन् रमाइलो हुने थियो । तिलबारीकी दिदी पनि यही बाटो हुँदै आइरहेकी होलिन् ।’ फुपुका यस्ता प्रश्नहरू सुनिँदा चाखलाग्दा मात्र होइन, सुनिरहेका सबैलाई रमाइलो पनि लाग्थ्यो ।”
अनि फुपुले आफ्नो घरतिरका आफन्त र गाउँको कथा–व्यथा सुनाउँदा हामीलाई त फिल्म हेरेझैँ लाग्थ्यो । ठूली फुपु आउनु भनेको हाम्रो लागि सानो उत्सव नै हुने गथ्र्यो । उहाँसँगै आउने कोसेलीको चासो र मिठास हाम्रो बालमनलाई झन् लोभ्याइरहन्थ्यो र हामी त्यसैमा हराइरहन्थ्यौँ । फुपुका छोराछोरीसँग खेल्न थालेपछि हामी केटाकेटीको माहोल पनि राम्रै जम्थ्यो ।
दर खाने रात विशेष नै हुन्थ्यो । घरको मुल कोठाको बीचमा अगेनोमा आगो बलिरहेको हुन्थ्यो । बा, आमा र फुपुहरू दतिवन केलाउँदै कुरा गर्थे । हाम्रो घर गाउँको बीचमा भएकाले तल–माथिका काका–ठूलाबाबुहरू पनि बा–काकासँग गफ गर्न आउँथे । उनीहरू दिदी–बहिनी आएको, श्रीमती माइत गएकी–नगएको कुरा सुनाउँथे । त्यसैमा जोडिँदै सुरु हुन्थ्यो—राजनीतिबाट भैसी बाली गएका कुरा र ब्याउनेसम्मका हरेक गफ । हामीलाई पनि ती कुरा निकै चासो लाग्थे ।
त्यतिबेला गाउँमा ‘माओवादी आयो रे’ भन्ने हल्ला निकै चर्को थियो । ‘माओवादी त गुरिल्ला हुन्, मान्छेजस्तो होइनन् रे उनीहरू त जंगलमै बस्छन् रे’ भन्ने सुन्दा बालमस्तिष्कमा छ्यास्स डर पस्थ्यो । हाम्रो काका भने राजनीतिको अलि लहडमै हुनुहुन्थ्यो, उहाँसँग सानो रेडियो पनि थियो । रेडियोमा ‘घटना र विचार’ बजिरहँदा बा र गाउँका ठूला मान्छेहरू राजा–प्रजातन्त्र, गिरिजा–देउवा, माओवादी र गाउँको सुरक्षासम्मका कुरा गफ गर्थे । म त्यतिबेला झण्डै ६–७ वर्षको मात्र थिएँ । के बुझिन्थ्यो र ? तर त्यो वातावरण, त्यो भेला नै रमाइलो लाग्थ्यो ।
रात छिपिदै आउँथ्यो । गफका लागि आएका काका–ठूलाबाबुहरू आफ्नै घर फर्किन्थे । घरमा हामी मात्रै बस्थ्यौँ । सुत्ने तयारी चलिरहेको थियो तर, हाम्रो मन भने दर खाने बेला निदाइएला कि भन्ने चिन्तामा घुम्थ्यो । म सुत्दा तलाई नउठाउने भन्थे, मलाई दर छुट्लाकी भन्ने पिर पथ्र्यो । राती सबै वल्तिर पल्टिर सुतिन्थ्यौं । आमा, आबोइ र फुपुहरू भान्सा–अगेनाको कोठामा सुत्नुहुन्थ्यो र गफ गर्दै समय बिताउनुहुन्थ्यो । नसुन्दा नसुन्दै पनि हामीले तिनै कुरा मनमा सम्झिन्थ्यौँ । उहाँहरू छिटै निदाउन भन्नुहुन्थ्यो तर, फुपुका घरका कथा नसकिँदा गफमै भुलिहाल्नुहुन्थ्यो । ढोका नजिक सुत्ने कान्छी फुपु–दिदीहरू बेला–बेला ढोका खोलेर अरु घरतिर हेर्नुहुन्थ्यो । कोही उठेर पकाउन थालेकी भनेर पल्लो गाउँतिर आगो सल्केको देख्दा, हामी तयारी गर्ने भनेर सुन्दै गर्दा अन्ततः निदाइहालिन्थ्यौँ ।
तर हजुरआमा एक झप निदाएपछि उठेर दर पकाउने तयारी थाल्नुहुन्थ्यो । उहाँले नसुतीकन पकाएको दर तयार भएपछि सबैलाई बोलाएर पस्कनुहुन्थ्यो । हामी केटाकटहरू पनि जुरुक्कै उठेर एक थाल दर दन्काउँथ्यौँउ । त्यो क्षण अत्यन्त रमाइलो हुन्थ्यो । टुकी र आगोको उज्यालोमा बाहिरको कालो रात पनि चम्किन्थ्यो । दर खाँदै गर्दा आबोइ भन्नुहुन्थ्यो—‘कुन साल हो, फलानोको घरमा ब्यानसम्म निदाएछन्, उज्यालो हुन्छ भनेर ढोका लागाएर दर खाए रे ।’ आबोइले लस्करै बसेका सबैलाई पस्केर थपी–थपी खुवाएको याद अझै झल्झलि आउँछ ।
हजुरआमाले आमा–फुपुहरुलाई विशेष रूपमा दर दिनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो ‘खाओ, खाओे थपि थपि खाओ भोली गाह्रो हुन्छ ।’ अनि हामीतिर हेरेर थप्नुभयो—‘तिमारु भोली उभ्रेको खाउला, अब सुतओ ।

खोला–कुला सुस्साउँदै गरेको कालो रात, तर सबैको घरमा दर पाक्दा आगोको उज्यालोले गाउँ नै तातेको भान हुन्थ्यो । हाम्रो मामाघर नजिकै हुँदा आमा बिहानै मामाघर जाने भन्नुहुन्थ्यो । घरबाटै मामाघर देखिने भएकाले आमाको आँखा भने बेला बेला मामाघरतिर जान्थे । पारी गाउँका घरहरु सबै उज्याला देखिन्थे रातीमा उज्यालो हुँदा माहोल अर्कै हुनथ्यो । उज्यालो नभएको घरमा दर किन नखाका भन्ने भान हामीलाई लाग्थ्यो । राति अबेरसम्म दर खाँदै गर्दा भोली मेलाको तयारी गर्ने प्रसंग पनि चल्थ्यो । हामी स्कुलका नयाँ लुगा लगाएर मेला जानु त्यो बेला गर्वको कुरा हुन्थ्यो ।
भोलीपल्ट तिजमा माइत आएका छोरीहरूको भेटघाटले गाउँ नै अर्कै हुन्थ्यो । धेरैपछि भेट भएका दिदी–बहिनीको लोग्नेको छोराछोरीको घर–परिवारको कुरा हुन्थ्यो, सायद हामीलाई खासै वास्ता लाग्दैनथ्यो ।
हामीले आबोइलाई पुराना गीत गाउन कर गथ्र्यौं । उहाँलाई विशेष गीत गाउन नआए पनि, सुनेका र गाएका गीतका टुक्का थोरै–थोरै याद थिए ।
“…उधो बात बाटो खन्यो अमृकाने गोराले,
क्यारी भन्यो आज मलाई छोरो मोराले…”
सायद घरमा छोरा–बुवारीका प्रसंग हुन्थ्यो । उता फुपु गित थाल्नुहुनथ्यो:
“दुई हजार सतचालिस साउनको महिना… भन्ने केटाको सुन बहिना..”
गीतमा सामाजिक, राजनीतिक र गाउँका घटनाक्रम जोडिन्थ्यो।
“भाइ उठेर गएछन् खाको पैसा तिरेर,
दाइ उठेर गएछन् पखेस भनेर ।
दाइ गएर लुकेछ सजिवने घारीमा,
भाइको परान गएछ मकैबारीमा ।।”
कुनै नराम्रो घटनाको गहिरो छाप पनि हुन्थ्यो । उता महिला अधिकारका कुरा उठाउँदै आमाहरू भन्थेः
“…मैयादेवी उनी सांसद भइनन् र
उनी पनि हामी जस्तै महिला हैनन् र ।” यस्तै यस्तै ।
यी गीतहरूले हाम्रो बाल्यकालमा गाउँको जीवन, सामाजिक घटनाक्रम र राजनीतिक परिवेशलाई जीवन्त बनाउँथे ।
यी गीतहरूले गाउँको वास्तविकता बोलेका थिए । तीज केवल रमाइलो होइन, पीडा र पर्खाइको उत्सव पनि थियो ।
तीजको मेला हाम्रो लागि संसारको सबैभन्दा ठूलो शहर जस्तो हुन्थ्यो । छेलो हानेको हेर्ने, लंगुर–बुर्जा खेल्ने, अनि सुन्तला मिठाइ किनेर खाएको याद अझै ताजै छ । गाउँ–गाउँका आमा–फुपुहरू मिलेर एकठाउँमा गीत गाएका याद छन् । फरक–फरक टोलका, फरक–फरक पार्टीका महिलाहरूको छुट्टाछुट्टै जमात जम्मा बनाएर गित गाएको देख्दा हाम्रो मन निकै उत्साहित हुन्थ्यो । फुपुहरू, आमा, काकीहरू घाममा हिँड्दै, साडी लगाएर टाउकोमा पछ्यौरी बेरेर हिँड्थे । दिदी–बहिनीहरू आमा–फुपुका चटक रंगका सारी लगाएर नाच्थे । झ्याउरे गीत र भाकाहरू गुन्जिन्थे। गाउँका काकाहरू पनि मादल–बासुरी बजाएर साथ दिन्थ्ये ।
तर आज समय फेरिएको छ । आबोइ, हजुरआमा, कान्छी फुपु र अंकल मात्रै होइन, कतिपय गाउँका काका–ठूलाबाबुहरू, सँगै हाम्रै समकालिन गाउँका दिदीबहिनी र दाजुभाईहरू पनि अब केवल सम्झनामा मात्र छन् । गाउँमा पहिले जस्तो भीड छैन, न झ्याउरे गीतहरूको गुञ्जाइ सुनिन्छ । खोला त सुसाउँदै होला, तर कुलो झाडीले छोपेको छ । यी कथा सम्झने र बुझ्ने मेरा समकालिनहरू परदेशिएका छन्, कोही शहरी बनेका छन् । पारी गाउँतिर झलमल्ल बल्ने आगो निभेको छ, आगो बाल्ने दाउराहरू कुहिसकेका छन् । त्यो घर अहिले दिउँसै डर लाग्ने खाल्टोमा परिणत भएको छ । यो सबै समयको खेल जस्तो लाग्छ ।
मानिसहरूको सहरको व्यस्तताले गाउँको तिजलाई हराउँदै लग्यो । रेडियोको “घटना र विचार” अब मोबाइलको स्क्रोलिङमा हरायो । दर खाने दिन रहेन, सप्ताह भयो । खास दिन अब केवल औपचारिकता जस्तै लाग्छ । तर वास्तविक दर के पाक्छ, जुन स्वाद त जिब्रोले पनि बिर्सियो ।
तर म अझै त्यो दिन सम्झन्छु । आँखा चिम्लिँदा देख्छु—अगेनोको आगो बलिरहेको, बाले भैसी दँुहेर भरी गौवा ल्याएर मलाई भित्र लैजान भनेको आमाको हतार, मेला जानको भीड, गाउँमा मजस्तै जमातको भिड हल्ला, र झ्याउरे गीतका हरफहरू ।
चितवनका गर्मीमा, गोरखाको सिरेटोको सम्झना लेख्दै गर्दा मेरो यहाँको बसाइँ रहर कि बाध्यता … । तीज अब पहिले जस्तो नभए पनि ती सम्झनाहरू मेरो जीवनको धरोहर हुन् । ती पुरानो तिजले मलाई गाउँसँग बाँधेर राखेका छन् । तिजमात्रै होइन, अन्य चाडबाड पनि । बाल्यकालको तिजले सिकाएको कुरा के हो भने पर्व केवल खाने र रमाउने कुरा होइन—त्यो हो एकता, पर्खाइ र प्रेमको संस्कार हो ।
म अझै आशा गर्छु अहिले बाँदर नाच्ने ती गाउँमा फेरी कुनै दिन त्यो रौनक फर्कियोस् । गाउँमा बालबालिकाले मैले जस्तै स्मरण ताजा राख्न सकूँन । आमाहरू झ्याउरे गीत गाउन, फुपुहरू बाटो हिँड्दै कोसेली ल्याउन र म फेरि त्यही घरको आँगनमा दर खाऊँ । यसरी नै… उही आबोइले पकाएको स्वादमा…
























