चितवन विशेष
चितवनका गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन,आजै देवघाटमा अन्येष्टि गरिने

भरतपुर,भदौं २-
गीतकार एवं साहित्यकार प्रेमविनोद श्रेष्ठ “नन्दन”को निधन भएको छ । आइतबार बेलुका ९ः२५ बजे ९० वर्षको उमेरमा उहाँको निधन भएको हो । नारायणी कला मन्दिरका पूर्व अध्यक्ष तथा सल्लाहाकार समेत रहनुभएका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ । नारायणी कला मन्दिरका पूर्व अध्यक्ष सहनलाल प्रधानका अनुसार गीतकार नन्दन क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
उहाँले विभिन्न विद्यामा आफ्ना रचनाहरु प्रस्तुत गर्नुभएको छ । उहाँले लेखेका गीतमा नातिकाजी लगायतले संगित दिनुभएको छ भने विभिन्न चलचित्रका गीतमा पनि उहाँले रचना भर्नुभएको छ । कलाकार रिद्धिचरण श्रेष्ठका अनुसार नन्दन चितवनमा गजल दोहोरीका जन्मदाता हुनुहुन्थ्यो ।
तनहुँको बन्दिपुरमा जन्मिनुभएका नन्दन केही समय गोरखाको आरुघाटमा व्यापार व्यवसाय गर्नुभयो । सोही सिलसिलामा उहाँ २०१९ सालमा नारायणगढ बजार झर्नुभयो । नारायणी कलामन्दिरमा नाटक अभिनय र लेखनमा उहाँ लामो समय सक्रिय रहनुभयो । उहाँले विश्वप्रख्यात लेखकका नाटक नेपालीमा अनुवाद गर्नुभएको छ । अन्तिम समयसम्म पनि साहित्यिक क्षेत्रमा सक्रिय नन्दनको निधनले नेपाली गीत र साहित्य क्षेत्रमा अपुरणिय क्षति पुगेको श्रेष्ठले बताउनुभयो । उहाँ छिन्नलता लगायत दर्जनौं पुरस्कार लगायतबाट सम्मानित भइसक्नुभएको छ । उहाँकी श्रीमतीसंगै तीन छोरा र तीन छोरी छन । नन्दनको आजै देवघाटमा अन्तिम दाहासंस्कारको तयारी गरिएको छ ।
























