राजनीति
माओवादी पार्टी अरूजस्तै बिग्रियो: विप्लव

सुर्खेत, साउन ३१-
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी आन्दोलनलाई बचाउने गरी पार्टी एकता गर्न आफूहरू तयार रहेको बताएका छन् । शनिबार (साउन ३१) सुर्खेतमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आफ्नो पार्टीले १० महिनाअगाडि नै एकता गर्ने निर्णय गरे पनि यसमा माओवादी अलमलिएको आरोप लगाए ।
“हामी नेपालमा एकताबद्ध कम्युनिस्ट पार्टी निर्माणको लागि लागिरहेका छौँ । अहिलेको चुनौती भनेको पुष्पलालले बनाएको कम्युनिस्ट पार्टी फर्काउन सक्छौँ कि सक्दैनौँ भन्ने छ,” विप्लवले भने, “एकताको नाममा हामी मिसिन जाने होइन, नेपाललाई समाजवादतिर लिने सर्तसहित हामी एकता गर्छौं । अहिले पुँजीवादभन्दा समाजवादमा नेपाली युवाहरूको भविष्य छ ।”
उनले नेपालका नेताले राजनीतिलाई मागी खाने भाँडो बनाएको बताए । राजनीति गर्ने सबैले उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए । “सबैले कुरा गरेर मात्र खाने बानी छ, मिहिनेत गरी खाने संस्कृति हराइसक्यो,” उनले भने, “त्यसको लागि श्रमसँगै राजनीतिलाई कसरी लिनुपर्छ भन्ने हामी सिकाउँछौँ ।”
वर्तमान व्यवस्थाले युवालाई रोजगारी दिनुभन्दा झन् बेरोजगार बनाएको उनले टिप्पणी गरे । युवामा निराशा विश्वविद्यालयबाट सुरु हुने उनको भनाइ थियो ।
विश्वविद्यालयमा पढाउने प्राध्यापकले विद्यार्थीलाई नेपालमै भविष्य देखाउनुभन्दा उल्टै राम्रो क्षमता भएकालाई विदेश जान सल्लाह दिने गरेको उनको बुझाइ छ । क्षमतावान् युवा दैनिक सयौँको संख्यामा विदेशिने गरेको उनले बताए ।
“पछिल्लो समय नेपाली युवामा पुराना पार्टीप्रति वितृष्णा जागेकोले हर्क, बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । सिद्धान्त, विचार र दीर्घकालीन योजना नभएका पार्टीहरूप्रति युवाहरूको विश्वास बढ्नु दुःखत छ,” उनले भने ।
माओवादी पार्टीले ‘जनयुद्ध’ गरी सत्तामा पुगेर पनि जनताका समस्या, दुःखपीडा बुझ्न नसक्नु सबैभन्दा ठूलो गल्ती भएको उनले स्वीकार गरे । उनले ०८४ सालको संसदीय निर्वाचनमा आफ्नो पार्टीले पनि चुनाव लड्ने तयारी गरिरहेको बताए । जनताको समाजवाद कस्तो हुन्छ भन्ने देखाउने गरी तयारीमा लागेको उनको भनाइ थियो ।
पछिल्लो समय माओवादी पार्टी पनि अरूजस्तै बिग्रिएको उनले आरोप लगाए । “नेपाली युवाहरूलाई रोजगारी दिनुको सट्टा यति युवालाई विदेशमा पठायौँ भनेर माओवादीहरूले गर्व गरेको देख्दा आफ्नो कम्पुरो तातेर आउँछ,” विप्लवले भने, “अझ त नेता कम्युनिस्टको हुने भन्ने उता नेपाली बेच्न म्यानपावर खोलेर बस्नु दुःखत हो ।”


























