राजनीति
हिजो कांग्रेस प्रवेश गरेका देवेन्द्र यादवको सदस्यता एकदिनमै खारेज

काठमाडौं, साउन ३०-
नेपाली कांग्रेसले बिहीबार (हिजो) पार्टी प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री यादवलाई सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिएका थिए ।
उनी फौजदारी कानुनी कारबाही प्रक्रियामा रहेको जानकारी पाएपछि उनको सदस्यता खारेज गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“।।।तर, बुझ्दै गर्दा निज व्यक्तिउपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएकाले निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ ।
कानुनी कारबाहीको प्रक्रियाबारे गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ । विज्ञप्तिमा पार्टी नेताहरूले गरेको आग्रहबमोजिम सभापति देउवाले पार्टी सदस्यता दिएको पनि दाबी गरिएको छ ।


























