राजनीति
बालेनका सल्लाहकार अर्याल रुपन्देहीमा उमेदवारी दिने तयारीमा

काठमाडौं,साउन २९-
काठमाडौं महानगरका मेयर बालेन शाहका सल्लाहकार ओमप्रकाश अर्यालले रुपन्देही-३ को उपनिर्वाचनमा उमेदवारी दिने तयारी गरेका छन् । उनी अहिले काठमाडौं महानगरका मेयर शाहका कानुनी सल्लाहकार पनि हुन् । उनले सोही टिमबाट उमेदवारी दिनेगरी छलफल थालेका छन् ।
“हामीबीच एक चरणको छलफल भइसकेको छ,” सहभागी एक नेताले भने, “अर्यालजीले पनि अहिले तयारी थालेको बताउनुभयो ।” अर्याललाई राखेको जिज्ञासामा अहिले छलफलकै चरणमा रहेको र निर्णय भइनसकेको बताए । कुन समूहबाट उमेदवारी रहन्छ कि स्वतन्त्ररुपमा भन्ने प्रश्नमा उनको जवाफ थियो– अहिले छलफलकै चरणमा छु ।”
अर्यालले अहिले संसद्मा विधिको शासन मान्ने लाइनको अभाव रहेको बताउँदै संवैधानिक क्षेत्रका विज्ञको पनि कमी महसुस भएकाले उमेदवारीको विषयमा छलफल थालेको बताए । कात्तिक १७ गते रुपन्देही ३ मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रका सांसद दीपक बोहोराको निधनपछि उपनिर्वाचन हुन लागेको हो । अहिले उपनिर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा, स्वतन्त्रसहितका राजनीतिक दलले तयारी तीव्र पारेका छन् ।


























