राजनीति

प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छः स्वास्थ्यमन्त्री पौडेल

Banner
भक्तपुर, साउन २८-
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मागअनुसारको आवश्यकतालाई वृद्धि गर्न अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
विश्व अङ्गदान दिवसका अवसरमा आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा आवश्यकताको २० प्रतिशत पनि अङ्गदान हुन नसकेकाले नीतिनियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “बिमासँग विपन्नवर्ग जोडियो भने प्रत्यारोपण सुविधा रु नौ लाखसम्म पुग्छ । त्यसैले बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अङ्गदान गर्नेलाई निःशुल्क बिमा गर्ने व्यवस्था आवश्यक छ । यसका लागि लागिरहेका छौँ ।”
अङ्ग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै उहाँले सबै सङ्घीय अस्पतालको क्षमता तीनगुणा बढाएर सबैलाई कम्तीमा ५०० श्यया बनाउनुपर्ने र दक्ष जनशक्ति, उपकरण एवं पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
क्यान्सरकोसमेत छुट्टै प्रतिष्ठान बनाउनुपर्छ भन्दै मन्त्री पौडेलले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यकपर्ने पेट सिटीस्क्यान मेसिन विस्तार गर्दै लगिने बताउनुभयो ।
मन्त्री पौडेलले जनस्वास्थ्य नियमावलीमा टेकेर आइभिएफको निर्देशिका जारी हुुन लागेको बताउँदै भारतमा खुलेआम अङ्ग बेचबिखन भएपछि भारतले कडाइ गरेको अवस्थामा नेपालमा पनि अङ्गदानका क्षेत्रमा चेतना विस्तार गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो ।
मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पु¥याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>