राजनीति
केन्द्रीय समितिमा विधिको प्रश्न उठाएको हुँ, व्यक्तिको विरोध गरेको होइनः तोसिमा कार्की

काठमाडौं, साउन २४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले आफूले केन्द्रीय समिति बैठकमा विधिको प्रश्न उठाएको बताएकी छन् । उनले आफूले कुनै व्यक्ति विशेषको विरोध नगरेको र रिक्त सहमहामन्त्रीमा आफ्नो दाबी नरहेको समेत बताएकी छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारण सार्वजनिक गर्दै उनले शुक्रबारको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि अस्वीकार गरेको उल्लेख गरेकी छन् । पार्टीले रिक्त रहेको सहमहामन्त्रीको पदमा थप गृहकार्यसहित विधिसम्मत रूपले इच्छुक(योग्य महिलाहरूबाट नियुक्ति गर्नुपर्छ भन्ने आफ्नो मत रहेको कार्कीले बताएकी छन् ।
शुक्रबारको बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले सभापति रवि लामिछानेका विश्वास पात्र दीपक बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्ताव गरेपछि तोसिमासिहतका नेताहरूले विरोध गरेका थिए । सुमना श्रेष्ठले केही महिना पहिला राजीनामा दिएपछि रास्वपामा सहमहामन्त्री पद रिक्त छ ।
बैठकमा आफूहरूले फरक मत राखेको कुरा मिडियामा ल्याइएको भन्दै तोसिमा असन्तुष्टि समेत प्रकट गरेकी छन् । ‘केन्द्रीय समिति बैठकमा भएको छलफलको नालीबेली सबै बाहिर आउन जरुरी छैन । पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुने गर्छ र त्यो जरुरी पनि छ’, तोसिमाले लेखेकी छन्, ‘मैले सहमहामन्त्रीको पदमा प्रस्तावित व्यक्तिको विरोध जनाएको होइन । केन्द्रीय समितिमा एजेन्डा अनुरूप राखिने प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेको हो । र राम्रो कुरो, यसलाई पार्टी सचिवालय र पदाधिकारीहरूले सकारात्मक रूपमा लिनुभयो र एजेन्डा फिर्ता गरी थप गृहकार्य साथ आउने निर्णय भएको छ ।’
उनले गलत भाष्य बनाएर आफूलाई पद लोलुपजस्तो नदेखाइदिन पनि अपिल गरेकी छन् । ‘यो सहमहामन्त्री पदमा मेरो कुनै दाबी छैन । म आम जनतासमक्ष पुगेर चुनाव लडेर सांसद निर्वाचित भएको हुँ । पार्टीभित्र पनि अधिवेशनमा पदाधिकारीहरू निर्वाचित भएरै आउनुपर्छ भन्ने नीतिरनिर्णय स्थापित गर्न विधान संशोधनमा मैले खेलेको भूमिकाबारे यहाँहरू जानकार नै हुनुहुन्छ’, तोसिमाले लेखकी छन्, ‘त्यसैले मैले कुनै पदमा दाबी गर्नुपरे म चुनावमार्फत् नै आउनेछु।’


























