राजनीति
नेपाली कांग्रेस गैडाकोटका युवा नेता गोकुल सापकोटा रास्वपामा प्रवेश

गैडाकोट,साउन २३-
नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शुक्रबार रास्वपा केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले सापकोटाको पार्टी प्रवेश गरेको जानकारीसहित बैठकका अन्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सापकोटाले पुराना दलहरू देश विकास र सुशासनको मुद्दामा पूर्ण रूपमा असफल भएको भन्दै आफूले नयाँ विकल्प रोजेको बताए । ’मैले विद्यार्थीकालदेखि कांग्रेसमा रहेर राजनीति गरेँ। व्यवस्थाहरू पनि परिवर्तन भए तर जनताको अवस्था फेरिएन,’ सापकोटाले भने, ’राजनीति गलत ट्र्याकमा गइरहेको र असल नागरिकले न्याय नपाउने अवस्था आएपछि देशका लागि केही गर्नुपर्छ भनेर रास्वपासँग जोडिएको हुँ।’ पत्रकारको प्रश्नमा उनले कांग्रेस लगायतका दलहरूले घोषणापत्रमा राम्रा कुरा लेखे पनि कार्यान्वयनमा चुकेको र पार्टी सही बाटोमा हिँड्न नसकेको आरोप लगाए ।


























