राजनीति
बागमती प्रदेश सरकारले साउन २७ गते विश्वासको मत लिने

मकवानपुर, साउन २३-
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाको साउन २७ गते अपराह्न ४ः०० बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत लिनुहुने भएको छ ।
मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न आवश्यक व्यवस्था मिलाइदिनुहुन भनी प्रदेशसभा सचिवालयमा आज सूचना दर्ता गराउनुभएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँले प्रदेशसभाका एक सय १० जना सदस्यलाई साउन २७ गते बस्ने बैठकमा उपस्थित हुन सूचना पठाइसकिएको पनि उल्लेख गर्नुभयो । गत साउन १८ गतेदेखि लागू हुनेगरी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई राजीनामा पेस गर्नुभएको थियो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई प्रदेशसभाको बहुमत ६४ जना सदस्यको समर्थन प्राप्त गरी गत साउन २० गते प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्नु भई उहाँकै अध्यक्षतामा नौ सदस्य मन्त्रिपरिषद् गठन गरिएको थियो । नेपाली कांग्रेस र नेकपा ९एमाले०को गठबन्धनबाट मुख्यमन्त्रीमा बानियाँ नियुक्त हुनुभएको थियो ।


























