राजनीति

पूर्वराष्ट्रपतिलाई पार्टी भित्रबाट भन्दा बाहिरबाट बढी उचालिएको रहेछः शंकर पोखरेल

Banner

काठमाडौं,साउन २०-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा चर्चा र विवादको विषय बनाइन सुरु गरेको पूर्वराष्ट्रपतिको सन्दर्भमा छोटो समयमा उपयुक्त तरिकारले समाधान गरिएको दाबी गरेका छन्। आज पार्टी केन्द्रीय कार्यलयमा पार्टीको प्रचार विभाग र प्रेस चौतारीका पदाधिकारीहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

उनले यस विषयलाई पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट उछालिएको स्पष्ट भएको दबी गरे। ‘पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा आगमनको सन्दर्भ पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट बढी उचालिएको रहेछ भन्ने कुरा साउन ६ गते सकिएको केन्द्रीय कमिटीबाट स्पष्ट भयो’ महासचिव पोखरेलले भने, ‘केन्द्रीय कमिटीले सर्वसम्मत रुपमा उहाँलाई सम्माननीय कै स्थानमा बस्ने निर्णय लियो। यसबाट पुष्टि हुन्छ कि पार्टी भित्रका भन्दा पनि पार्टी बाहिरकाहरु उहाँलाई सक्रिय राजनीतिमा ल्याएर विवादमा पार्न चाहन्थे।’

पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण विशिष्ट प्रकारको विषय भएकोले यसका लागि विशेष निर्णय नै चाहिएको उनले स्पष्ट पारे। सदस्यता नवीकरणका विषयमा कतिपयले हल्का टिप्पणी गरेको पाइएको र यस विषयको गहिराईमा उनीहरु नपुगेको बताए। ‘पार्टीबाट रिसाएकाहरुलाई पनि फकाएर सदस्यता नवीकरण गरिन्छ। त्यसैले नवीकरण गर्छ भनेर स्वतस्फूर्त भन्नेको नवीकरण हुनुपर्ने हो’ उनले भने, ‘उहाँ विशिष्ट व्यक्तित्व हो। सम्मानित व्यक्तित्व हो। त्यसैले पार्टीले पनि विशिष्ट प्रकारले सम्मानजनक निर्णय गरेको छ।’

महासचिव पोखरेलले विधान महाधिवेशनले पार्टीको नीति,विधी र भविष्यको नेतृत्वका सन्दर्भमा ऐतिहासिक निर्णयहरु गर्ने बताए। एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराईज हलमा हुँदैछ। बैठकमा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक साताभित्र विभागले विधान महाधिवेशनको प्रचारका लागि विस्तृत कार्ययोजना बनाएर पार्टी केन्द्रीय कार्यालयमा बुझाउने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>