Breaking News

चितवनमा सहकारी मार्फत कोदोको प्रबद्र्धन, त्रिपुरेश्वर कृषि सहकारीमा सामूहिक खेती

Banner

भरतपुर, साउन १६-

चितवनमा प्रथम कोदो दिवस मनाइएको छ । भरतपुर महानगरपालिका र भरतपुर–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले आज संयुक्त रुपमा कोदो रोपेर दिवस मनाएका हुन ।

कोदो रोप्दै भरतपुर महानगरपालिका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले कोदोको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भरतपुर महानगरपालिकाले रैथाने बालीलाई लोप हुन नदिनका लागि अनुदान लगायतका कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले कोदो लगायतका रैथाने खेती गर्ने किसानलाई प्रतिकट्ठा एक हजार रुपैयाँका दरले अनुदान दिने तयारीमा रहेको बताउनुभयो । ‘बाँझो जमिनलाई उत्पादनमा जोड्नुपर्छ भन्ने महानगरपालिकाको जोड हो,उहाँले भन्नुभयो,बाँझो जमिन राख्नेलाई हामीले जरिवाना समेत लगाउने तयारी गरेका छौं ।’ पौष्टिक तत्वले भरिपूर्ण कोदोले मानिसहरुको आर्थिक उन्नतीमा समेत सहयोग पुग्ने विश्वास उहाँको छ ।

यहाँ सहकारी मार्फत विगतदेखिनै रैथाने बाली कोदो संरक्षण गर्दै आइएको छ । सहकारीले विगत पाँच वर्षदेखि आफ्ना सदस्यहरुलाई कोदो उत्पादनका लागि प्रोत्साहन गर्दै आएको सहकारीका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरु मार्फत अभियान संचालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामुहिक रुपमा कोदो रोपिएको हो ।

‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरुले घडेरी किन्दै छोड्ने बाँझो राख्ने क्रम उच्च छ, सापकोटाले भन्नुभयो,खाली जमिनलाई उत्पादनसंग जोड्नका लागि यो अभियान चलाएका हौं ।’ सापकोटाका अनुसार भरतपुर महानगरपालिका ८ र ९ नम्वर वडामा रहेका करिब १० बिघा जमिनमा कोदो रोपिएको छ । यस बर्ष मात्रै सहकारी संस्था मार्फत बिउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ ।
सहकारी संस्थाले तीन वर्ष अघि काभ्रेबाट एक केजी रैथाने कोदोको बिऊ ल्याएर रोपेको थियो । त्यसबाट ४१ केजी बिऊ उत्पादन भएको थियो । गतवर्ष सहकारीले सात कुन्टल कोदोको उत्पादन गरेको सापकोटाले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागि परेको बताउनुभयो । महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै उहाँले वडाको तर्फबाट बजेट समेत विनियोजन गरिएको बताउनुभयो । उहाँले जग्गा भाडामा लिएर कोदोखेती गर्ने किसानहरुलाई भाडाको पैसा तिरिदिने बताउनुभयो ।

लामो समय पछि कोदो रोप्न पाउँदा स्थानिय समेत हर्षित भएका छन । भरतपुर ८ की लिलावती कँडेलले पछिल्लो समय कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको बिषय भएको बताउनुभयो । बिगतमा पहाडमा रहँदा २५ मुरी सम्म कोदो उत्पादन गर्नुभएकी उहाँले चितवन झरेपछि कोदो रोप्न छोड्नुभएको थियो । अहिले सहकारीमार्फत कोदो रोप्दा खुसी लागेको अनुभव सुनाउनुभयो ।

आइपिएम प्रशिक्षक रमा ढुंगानाले अहिले खाद्यन्नमा बिषादीको मात्रा बढिरहेको समयमा बिषादीरहित कोदोको प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो । सरकारले यसवर्ष कोदोलाई महत्व दिँदै दिवस समेत मनाउन लागेकोमा उहाँले धन्यबाद समेत दिनुभयो ।

चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनमा गर्न सकिने भएकाले किसानका लागि समेत यो लाभदायिक हुने कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले बताउनुभयो । उहाँले कोदो लगायतका रैथाने बालिको संरक्षणका लागि सरकार लागि परेको बताउनुभयो । तराइमा खडेरीका कारण धाम उत्पादन घटिरहेका बेला सरकारले कोदोको उत्पादन र विस्तारलाई महत्वका साथ हेर्न थालेको बताउनुभयो ।

चितवनमा कोदोको उत्पदकत्व प्रतिहेक्टर एक दशमलब २ मेट्रिकटन छ । गतबर्ष जिल्लामा १ हजार ५० हेक्टरमा कोदो खेती गरिएको कँडेलले बताउनुभयो । जसबाट १ हजार २ सय मेट्रिकटन कोदो उत्पादन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>