Breaking News

चितवनमा शनिबार सबैभन्दा कम अपराधिक घटना

Banner

चितवन, साउन ११-

चितवन जिल्लामा शनिबारका दिन अपराधिक घटना कम हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्ष २०८१/०८२ मा गरेको विश्लेषण अनुसार शनिबार अपराधिक घटना न्यून हुने गरेको पाइएको हो ।
‘अधिकांश मानिसहरु शनिबार घरमा बस्ने हुँदा चोरी लगायतका अपराधिक घट्ना ज्यादै कम भएका छन्’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले भने ‘अपराध गर्ने मानिसहरुले पनि सार्वजनिक बिदाको दिन छुट्टी मनाउने जस्तो गरेको देखियो ।’ प्रहरी उपरीक्षक गिरीका अनुसार एक वर्षको अवधिमा भएका एक हजार सात सय ६५ अपराधिक घटनामध्ये शनिबार एक सय ८० वटा अपराधिक घटना भएका छन् । यो अन्य बारको तुलनामा ज्यादै न्यून हो ।
बुधबार सबैभन्दा बढी २९९ वटा अपराधिक घटना भएका छन् । त्यस्तै आइतबार २८५, बिहीबार २७४, सोमबार २५६, मंगलबार २४७ र शुक्रबार २२७ वटा अपराधिक घटना भएको उनले जानकारी दिए। अधिकांश अपराधिक घटना दिउँसो बढी भएका छन् । दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ६११ वटा घटना भएका छन् । बिहान र दिउँसोको तुलनामा राति अराधिक घटना न्यून भएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले अपराधिक घटना हुने महिना समेत विश्लेषण गरेको छ । प्रहरीका अनुसार असार महिनामा सबैभन्दा बढी अपराधिक घटना भएका छन् । यो महिनामा २०५ वटा घटना भएका छन् । त्यसपछि क्रमशः जेठमा १७३, साउन महिनामा १७२, भदौमा १६४, पौषमा १५६, कात्तिकमा १५६, वैशाखमा १४१, चैतमा १३६, असोजमा १३१, माघमा ११८, मंसिरमा ११३ र सबैभन्दा कम फागुन महिनामा ९९ वटा अपराधिक घटना भएका छन् ।
चितवनमा पछिल्ला वर्षहरुमा अपराधिक घटना बढ्दै गएको छ । प्रहरीको मुद्दा दर्ता विवरणलाई हेर्दा पछिल्ला तीन वर्षमा अपराधिक घटना निरन्तर बढेको छ । आव २०७९/०८० मा एक हजार ५३६ मुद्दा दर्ता भएकोमा गत आव २०८१/०८२ मा एक हजार ७६५ वटा मुद्दा दर्ता गरेको छ । त्यसको अघिल्लो आव २०८०/०८१ मा एक हजार ६२८ मुद्दा दर्ता भएको थियो । चितवनमा सबैभन्दा बढी संगठित तथा आर्थिक अपराध बढी भएका छन् ।
एक वर्षको अवधिमा संगठित तथा आर्थिक अपराध ५५६ वटा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यसपछि सामाजिक अपराध ३४९, ज्यान सम्बन्धी मुद्दामा २९५, आत्महत्या सम्बन्धी १९३, चोरी सम्बन्धी १४८ लगायतका मुद्दा रहेका छन् । गत आवमा एक हजार ८९२ जनालाई अभियुक्त बनाइएको छ । त्यसमध्ये २३ पुरुष र १ महिला गरी २४ जना विदेशी नागरिक छन् । त्यस्तै एक हजार ६९६ स्वदेशी पुरुष र १७१ स्वदेशि महिला र एक समलिंगी समेत अपराधिक कार्यमा संलग्न रहेको प्रहरीले आरोप लगाएको छ । घटनामा संलग्न मध्ये एक हजार ३९५ पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>