Breaking News

चितवनमा बढ्दै विशिष्ट व्यक्तिहरुको आवागमन, एक वर्षमै ३१५ पटक आए

Banner

चितवन, साउन ११–

देशकै मध्य भागमा अवस्थित चितवन जिल्लामा पछिल्लो वर्ष अतिविशिष्ट, विशिष्ट, मध्यम विशिष्ट व्यक्तिहरुको आवागमन हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ३१५ पटक अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको आवागमन भएको छ ।

जसमध्ये अतिविशिष्ट व्यक्ति ४ पटक आएका छन् भने विशिष्ट व्यक्तिहरु ६० पटक, मध्यम २४८ र विदेशी ३ पटक आवागमन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोबिन्द पुरीले जानकारी दिए । उनले सबै खालका व्यक्तिहरुलाई सुरक्षा भने दिन नपरेको बताए । ‘कतिपयका आफ्नै सुरक्षाकर्मी भएकाले हामीले सुरक्षा दिन परेको छैन, आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने गरेका छौं’–प्रहरी प्रमुख पुरीले बताए ।

त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा भने ११४ पटक अतिविशिष्टि तथा विशिष्ट व्यक्तिहरु आएका थिए । जहाँ अतिविशिष्ट मात्रै ६ पटक आएका छन् भने विशिष्ट व्यक्तिहरु १० पटक आएका छन् । त्यसैगरि आर्थिक वर्ष २०७९/८० मा भने २७१ पटक अतिविशिष्टि तथा विशिष्ट व्यक्तिहरु आएका थिए । जहाँ अतिविशिष्ट मात्रै ९ पटक आएका छन् भने विशिष्ट व्यक्तिहरु ९४ पटक आएका छन् । मध्यम खालका १६२ र विदेशी ६ पटक आएका छन् ।

संघीय राजधानी काठमाडौंबाट नजिकको जिल्ला र यातायातको सहज पहुँचको जिल्ला भएकाले पनि भीआइपीहरु आवागमन हुने क्रम बढेको हो ।

नेपालमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई अतिविशिष्ट व्यक्तिको रुपमा राखिएको छ भने मुख्यमन्त्री, संघीय मन्त्री, प्रदेश प्रमुख, उच्च न्यायालयका मुख्य न्यायाधीश, संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, पूर्व राष्ट्रपती र प्रधानमन्त्रीहरू, सेनाका प्रधानसेनापति, सुरक्षा निकायका उच्च अधिकारीहरू, विदेशी कूटनीतिक नियोगका प्रमुखहरू (राजदूतहरू) लाई विशिष्ट व्यक्तिको रुपमा सुरक्षा दिने गरिन्छ ।

त्यस्तै मध्यम विशिष्ट व्यक्तिहरु पनि धेरै आउने गरेका छन् । त्यस्ता व्यक्तिहरुमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरु, प्रदेशका मन्त्रीहरू, संघीय सचिवहरु, स्थानीय तहका प्रमुखहरू (नगरपालिका/गाउँपालिका अध्यक्ष, मेयर आदि), संगठित निकायका अध्यक्ष, वरिष्ठ राजनैतिक नेताहरू (जसले तत्कालीन कुनै पदमा कार्यरत नभए पनि पार्टीमा प्रभावशाली स्थान राखेका छन्) लाई लिने गरिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>