चितवन विशेष
अनेरास्ववियु चितवनद्वारा एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान

भरतपुर,असार ३२-
अनेरास्ववियुले माध्यमिक परीक्षा (एसईई)मा चितवनबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । मंगलबार पूर्वि चितवनको न्यू क्यापिटल कलेजमा आयोजित एक कार्यक्रमका बिच अनेरास्ववियुले विद्यार्थीहरुलाई डायरी, कलम र प्रमाणसहित खादा ओडाएर सम्मान गरेको हो । चितवनबाट कुल ३७ जनाले ४ जिपिए प्राप्त गरेका छन् । चितवनमा ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने पहिलो विद्यार्थी संगठन अनेरास्ववियु बनेको छ ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष डा.सुजन कडरियाले आफ्नो मिहिनेतका कारणले ४ जिपिए प्राप्त गरेको भन्दै विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे । उनले अब आउने चुनौतीहरुलाई पनि चिर्दै थप सफलता हाँसिल गर्दै अघि बढ्न शुभकामना दिए । उनले देशमा शिक्षामा समानता हुन आवश्यक रहेको बताए छन् । अनेरास्ववियु नीजि विद्यालयको विरुद्धमा नरहेको स्पष्ट पार्दै अध्यक्ष कडरियाले नीजि र सरकारीका नाममा शिक्षमा असमानता कायम गरिन्छ भने अनेरास्ववियुले त्यसलाई कहिल्यै स्वीकार नगर्ने बताए । पढ्न नपाएका विद्यार्थीहरु सबैले पढ्न पाउनुपर्ने उनले बताए ।
शिक्षामा केही षड्यन्त्रहरु रहेको बताउँदै उनले त्यही षड्यन्त्रबाट शिक्षामा व्यापार भइरहेको बताए । अध्यक्ष कडरियाले शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता क्षेत्रमा भइरहेको व्यापारलाई क्रमिकरुपमा घटाउँदै लैजानुपर्ने बताएका छन् ।
कार्यक्रममा चितवनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरुलाई बधाई र केन्द्र तथा जिल्ला कमिटीबाट बिदाई भएका चितवनका नेताहरुलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलिया, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, एमाले जिल्ला सचिवालय सदस्य एवम् विद्यार्थी मोर्चा फाँट प्रमुख अनोज जोशी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जित सिटौला, अनेरास्ववियु केन्द्रीय सदस्यहरु प्रशान्त सुवेदी, अस्मिता रेग्मी, अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका निवर्तमान अध्यक्ष हरि आचार्य, न्यू क्यापिटल कलेजका प्रिन्सिपल भूपेन्द्र धितालले शुभकामना मन्तव्य राखेका थिए ।
अनेरास्ववियु चितवनका संयोजक सरोज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह संयोजक अमित आचार्यले शुभकामना मन्तव्य राखेका थिए भने सचिव प्रदिप पराजुलीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
























