चितवन विशेष
चितवनको बुढीराप्ती खोलामा बेपत्ता बालकको शव फेला

भरतपुर,असार २७-
खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका चितवनका एक जना बालक शव फेला परेको छ । रत्ननगर नगरपालिका–७ पडेरियास्थित बुढीराप्ती खोलामा बिहीबार पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता रत्ननगर–९ निवासी १५ वर्षीय अनमोल लम्सालको शव आज बिहान २ सय मिटर तल फेला परेको हो । शवको मुचुल्का उठाएर परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो ।
रत्ननगर–७, पडेरियास्थित मामाघर आएका लम्साल साथिसंग खोलामा पौडी खेल्न गएका थिए । खोलाले बगाएको चप्पल ल्याउन जाने क्रममा उनलाई खोलाले बगाएको थियो । दिउँसो २ः०० बजे बेपत्ता भएका लम्साल बिहीबार राती अबेरसम्म खोजी गरिएको थियो । बालकको खोजीका लागि विपद् व्यवस्थापनसहितको सुरक्षाकर्मीको टोली खटिएको थियो भने हात्ती र डुङगा प्रयोग गरिएको थियो ।

























