चितवन विशेष

वागमती प्रदेशमा पहिलोपटक जगतपुरमा समुदाय विपद् स्वयम्सेवक तालिम सम्पन्न

Banner

जगतपुर,असार २१-

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण हेड क्वाटर, चितवनको आयोजना तथा भरतपुर महानगरपालिका वडा नम्बर २३ को समन्वयमा समुुदाय विपद् स्वयम्सेवक तालिम जगतपुरमा शनिबार सम्पन्न भएको छ । लक्ष्मी मावि, जगतपुरमा १८ दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा पाँच जना महिलासहित स्थानीय १९ जना सहभागी थिए ।

सहभागीहरुलाई ग्याँसको आगोबाट बच्ने उपाय, बाढी वा खोलानदीमा डुुबेमा उद्दार गर्ने तरिका, दमकलको प्रयोग गरि आगो निभाउने, रुख वा भीरबाट खसेमा उद्दार गर्ने, अग्लो घरमा आगलागी भएमा आगो निभाउने तथा मानिसलाई उद्दार गर्ने, सवारी नपुग्ने ठाउँमा डोरीको सहायताले उद्दार गर्नेलगायतका विधिहरु सिकाइएको थियो । घाइतेलाई तत्काल प्राथमिक उपचार गर्ने विधि पनि सहभागीहरुलाई सिकाइएको थियो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सहभागीहरुलाई प्रमाणपत्र र सशस्त्र प्रहरी बल गढिमाई गण, भण्डाराका सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुुमार पोखरेलले प्रशिक्षकहरुलाई प्रशंसापत्र वितरण गर्नुभयो । विपद् व्यवस्थापन समितिका जिल्ला संयोजकसमेत रहनुुभएका प्रमुख जिल्ला अधिकारी पौडेलले समुुदायस्तरमा स्वयम्सेवक तालिम दिदा विपद्मा हुनसक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्न सकिने बताउनुुभयो । उहाँले विद्यालयस्तरमा पाठ्यक्रममानै समावेश गरेर विपद् न्यूनिकरण सम्बन्धी शिक्षा दिन सकिए यसबाट हुने जोखिमबाट बचाउन मद्दत पुुग्ने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल गढिमाई गण, भण्डाराका सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुुमार पोखरेलले सशस्त्र प्रहरी बलले वागमती प्रदेशमा समुदायस्तरमा विपद् स्वयम्सेवक तालिम सञ्चालन गरेको यो पहिलो पटक भएको जानकारी गराउँदै समुदायस्तरमा विपद् व्यवस्थापन स्वयम्सेवकहरु उत्पादन हुँदा विपद् व्यवस्थापन टोली आउन्अघि नै उनीहरु सक्रिय भएर क्षति न्यूनिकरणमा सहयोग पुग्ने बताउनु्भयो । जगतपुर विपद् जोखिमका हिसाबले संवेदनशील ठाउँ भएकोले पनि वागमती प्रदेशमा स्वयम्सेवक तालिमका लागि यस ठाउँलाई शुरुमै रोजिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलको भनाई थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण हेड क्वाटर, चितवनका सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले विपद् जोखिमका हिसाबले चितवनका संवेदनशील ठाउँहरुमा सशस्त्र प्रहरीको टोली राख्ने काम हुँदै गरेको र सोका लागिसमेत स्थानीय विपद् स्वयम्सेवकहरुबाट थप सहयोग पुग्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर २३का वडा अध्यक्ष दीपक दवाडीले जगतपुरमा बाढी तथा जंगली जनावरको अत्यधिक जोखिम भएको र विगतमा जनधनको ठूलो क्षति भएकोले पनि जगतपृुरमा समुदायस्तरमा स्वयम्सेवक तालिम आवश्यक भएकोले सशस्त्र प्रहरी बलसँग मिलेर यो तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले माथिल्ला नेतृत्वले बजेट बिनियोजन गर्दा संवेदनशील र अति आवश्यक ठाउँलाई विशेष प्राथमिकतामा राखेर बजेट छुट्याइदिन आग्रह गर्नुभयो ।

लक्ष्मी मावि, जगतपुरका प्रधानाध्यापक इश्वरी सापकोटाले विपद्का हिसाबले जोखिममा रहेका क्षेत्रका विद्यार्थीहरुलाईसमेत लक्षित गरेर विपद्बाट जोगिनका लागि तालिम दिन माग गर्नुभयो ।

प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज गुरुङको नेतृत्वमा सशस्त्र प्रहरीका नौ जना प्रशिक्षकले तालिम दिनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>