चितवन विशेष

सप्तगण्डकी क्याम्पसको छैठौँ साधारणसभा सम्पन्न, प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड

अध्यक्षमा रामचन्द्र अधिकारीको अनुमोदन

Banner

भरतपुर,असार १५-

३७ वर्षको इतिहास बोकेको सप्तगण्डकी क्याम्पस, भरतपुर, चितवनको छैठौँ साधारणसभा विभिन्न निर्णय गर्दै आइतबार सम्पन्न भएको छ ।

साधारणसभाले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा रामचन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णयलाई अनुमोदन गरेको छ । अधिकारी राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । त्यस्तै, सञ्चालक समितिका सदस्यहरुमा पूर्व क्याम्पस प्रमुख बालकृष्ण पौडेल, निरञ्जन न्यौपाने, ऋषि रेग्मी, दिलिप पौडेल र मधुर नेपाल चयन हुनुभएको छ ।

उक्त साधारणसभाको बन्द सत्रले क्याम्पस प्रमुख खिमलाल दाहालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन तथा २०८२/०८३को योजना सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरि, आर्थिक वर्ष २०८०/०८१ को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रम, गत आर्थिक वर्षमा क्याम्पस प्रशासनद्वारा गरिएका निर्णय पनि साधारणसभाले पारित गरेको छ ।

त्यसअघि साधारणसभाको उद्घाटन समारोहका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवम् सप्तगण्डकी क्याम्पसका सल्लाहकार संयोजक अमिक शेरचनले क्याम्पस स्थापनाकालको संघर्षलाई स्मरण गर्दै ‘जिरो’बाट शुरु गरेको क्याम्पस विभिन्न आरोहअवरोध पारगर्दै आजको अवस्थामा आइपुगेको र समाजमा शिक्षा क्षेत्रको सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । क्याम्पसलाई अब प्राविधिक शिक्षामा पाइला अघि बढाउन पनि उहाँले सुझाव दिनुभयो ।

संविधानसभाका सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले नेपालको शिक्षा प्रणालीले जुन ढंगले फड्को मार्नुपर्ने हो त्यो नभइरहेको विश्लेषण गर्दै समयसापेक्ष शिक्षा नीति राज्यतहबाटै परिवर्तन गर्नुपर्ने औंल्याउनुभयो । परम्परागत शिक्षाले अब नतिजा दिन नसक्ने उल्लेख गर्दै उहाँले सप्तगण्डकी क्याम्पस आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि अरुभन्दा फरक हुनैपर्छ भन्नुभयो ।

सप्तगण्डकी क्याम्पसका पूर्व क्याम्पस प्रमुखसमेत रहनुभएका वागमती प्रदेश सभाका सदस्य एवम् प्रदेशका पूर्वमन्त्री जगन्नाथ थपलियाले संघर्ष, समर्पण र त्यागले सप्तगण्डकी क्याम्पस बनेको स्मरण गर्नुभयो । आफुलगायत धेरैले सप्तगण्डकी क्याम्पसका लागि सुन्दर जीवन खर्चिएको बताउँदै उहाँले अब प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने र विद्यार्थीलाई ‘अन दि जब ट्रेनिङ’ दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

वागमती प्रदेश सभाका अर्का सदस्य इश्वर सापकोटा सुमनले क्याम्पसले उत्पादन गरेका जनशक्ति कहाँ के गर्दैछन् भनेर अध्ययन गर्नुपर्ने र राष्ट्र, राष्ट्रियता बारेपनि कक्षा लिनुपर्ने धारणा राख्नुभयो । पूर्व क्याम्पस प्रमुख बालकृष्ण पौडेलले ०४५ सालमा बुद्धिजीवि तथा स्थानीय शिक्षासेवीहरुको पहलमा क्याम्पस स्थापना भएको स्मरण गर्दै भन्नुभयो- सप्तगण्डकी क्याम्पस आम श्रमजीवि वर्गको पसिनाको महल हो ।

क्याम्पसका संस्थापक प्रमुख डा. भीमराज अधिकारीले देश, विदेशमा प्रतिष्पर्धामा उत्रिनसक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले क्याम्पसमा पहिलेको तुलनामा थोरै विद्यार्थी मात्र भर्ना हुने र तीमध्ये पनि थोरै विद्यार्थीमात्रै नियमित पढ्न आउने अवस्था भएकोले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्नुभयो । सरकारले जुन ढंगले शिक्षा क्षेत्रलाई अगाडि बढाउनुपर्ने हो त्यसो हुन नसकिरहेको उहाँको गुनासो थियो ।

साधारणसभा उद्घाटन सत्रमा वक्ताहरुले क्याम्पसको भरतपुर महानगरपालिका वडा नम्बर ५, नारायणपुरमा रहेको १८ कठ्ठा १३.५ धुर जग्गामा प्राविधिक शिक्षालय सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो । त्यस अवसरमा क्याम्पसको वार्षिक जर्नलसमेत कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री शेरचनबाट विमोचन गरिएको थियो । क्याम्पसका प्राध्यापक डा.कपिलदेव सुवेदीकाअनुसार सप्तगण्डकी क्याम्पसले प्रकाशन गर्ने यो जर्नल त्रिभूवन विश्वविद्यालयका क्याम्पसहरुमध्येकै उत्कृष्ट जर्नलको रुपमा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>