चितवन विशेष
गर्मी बढेसँगै चितवनमा रगतको अभाव

भरतपुर,जेठ २७-
गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल केन्द्रमा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको छ । रगत संकलन यसको आधाजसो हुने गर्दा माग पूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेलले जिल्लामा भएका भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका साथै मेडिकल कलेजलगायत निजी र प्राइभेट, सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दो भएकाले रगतको अभाव हुने गरेको बताउनुभयो ।
मेडिकल सिटिका रुपमा विकासहुँदै गएको यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो संख्यामा बिरामी आउने गरेका छन् ।






















