चितवन विशेष
एकीकृत समाजवादीका युवा नेता रामचन्द्रले दिए राजीनामा

चितवन, जेठ २३–
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का चितवन जिल्ला सदस्य एवं सक्रिय सामाजिक अभियन्ता रामचन्द्र लम्सालले पार्टीबाट राजीनामा दिएका छन्।
स्वतन्त्र नागरिकका हिसाबले सामाजिक कर्ममा सक्रिय रहने उद्घोषका साथ उनले सो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि लम्सालले सोही विषयलाई लिएर पार्टीबाट राजीनामा दिएका हुन् । विशेष अदालतमा मुद्दा दायर भएपछि अध्यक्ष नेपालको सांसद पद पनि निलम्बनमा परेको छ ।
पार्टीको मूल नेतृत्व नै भ्रष्टाचारको अभियोगमा तानिनु र पार्टीका समग्र गतिविधिहरू जनपक्षीय नहुनुले उक्त दलप्रति आफ्नो मोह भङ्ग भएको लम्साले अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आजसम्मको सहयोग सहकार्य र उत्प्रेरणाका लागि सबैलाई धन्यवाद दिँदै पार्टी साधन मात्र भएको र साध्य नभएको भन्दै सोही कारण आफूले पार्टी परित्याग गरेको बताएका छन् ।
राजनीतिक दलबाट पर रहेपनि स्वतन्त्र रूपले सामाजिक कर्ममा आफू रहिरहने निजको जिकिर रहेको छ। लम्साल प्रदेश युवा परिषद् जिल्ला कार्यसमितिका अध्यक्ष समेत रहेका छन् ।
























