चितवन विशेष

‘गंगाराम श्रेष्ठ स्मृति ग्रन्थ’ विमोचन

Banner
चितवन, वैशाख ३०–
आध्यात्मिक एवं सामाजिक व्यक्तित्व प्रतिष्ठित समाजसेवी संस्कृतविद् गंगाराम श्रेष्ठको स्मृतिमा प्रकाशित ‘गंगाराम श्रेष्ठ स्मृति ग्रन्थ’ विमोचन गरिएको छ ।
९८ वर्षीया वरिष्ठ ज्येष्ठ नागरिक श्रीमती दुर्गालक्ष्मी जोशी र विचार संघ नेपालका उपदेष्टा तुलसीराम सापकोटाले संयुक्तरुपमा स्मृति ग्रन्थको विमोचन गर्नुभएको हो ।
वि.सं. १९९३ साल पौष ९ गते पिता नन्दकुमार र माता केशरी माया श्रेष्ठको कान्छा छोराको रुपमा तनहुँ बन्दिपुरमा जन्मनु भएका गंगाराम लमजुङको खुदीबेनी र चितवनको नारायणगढलाई आफ्नो कर्मथलो बनाउनु भएको थियो । उहाँ आध्यात्मिक जीवनयात्राका साथसाथै बालकुमारी कलेज नारायणगढ, अमर मा.वि. तथा महेन्द्र संस्कृत माध्यमिक विद्यालय खुदी, विचार–संघ नेपालका संस्थापक, बालकुमारी उच्च मा.वि.को व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, ब्लड बैंक भरतपुर तथा उद्योग वाणिज्य संघ नारायणगढ तथा अन्य संघसंस्थामा आवद्ध भई सामाजिक, शैक्षिक र स्वास्थ्यको क्षेत्रमा अतुलनीयनीय योगदान पु¥याउनु भएको विषयलाई स्मृति ग्रन्थमा उल्लेख गरिएको छ ।
अद्वैत संस्था नेपालका संस्थापक ब्रह्मज्ञानी डा. क्षितीशचन्द्र चक्रवर्तीज्यूका अत्यन्त प्रिय शिष्यको रूपमा परिचित उहाँ गुरुदेवबाट खण्डन चक्रपाणि, वेदान्त संरक्षक, प्रधान कुलपति सहचारीजस्ता उपाधिबाट विभूषित हुनुका साथै विरोध विमर्श विभागका सभापति, अद्वैत विश्वविद्यालयको उपकुलपति एवं अद्वैत संस्थाको उच्च पदमा रही संस्थाको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो ।
त्यसैगरी अद्वैत संस्था संरक्षण मञ्च नेपालको स्थापनामा पनि उहाँको विशेष योगदान रहेको छ । उहाँले आफ्नो गुरुदेवको जीवनी (प्रथम र द्वितीय भाग), सिद्धान्त पत्रिका (हिन्दी) मा प्रकाशित गुरुदेवका लेखलाई नेपालीमा अनुवाद गर्नुका साथै बृहत् गीतामृत प्रमाण तात्पर्य टीका संक्षेपिकरण, गरुड पुराणको नेपाली टीका प्रकाशनका साथै स्वयंले अद्वैत वेदान्तका अन्तराल, नैष्कम्र्य सिद्धिआदि दर्जनौं ग्रन्थहरूको रचना एवं भारतका पूर्व राष्ट्रपति डा. राधा कृष्णन, स्वामी ईश्वरानन्द सरस्वतीले वेदान्त विषयमा गर्नुभएका त्रुटीहरूको खण्डनात्मक ग्रन्थ समेत रचना गर्नुभै पाठकहरूलाई सुसुचित पारिदिनु भएको छ । उहाँले तनहुँको तुरतुरेमा रहेको जन जागृति प्राथमिक विद्यालयका लागि जग्गा समेत प्रदान गर्नुभएको छ ।
कपिल, विनय, शंकर, अनुकुल (प्रणव) र प्रसन्न श्रेष्ठ पाँचभाइ छोरा र रोहिणी प्रधान र मोहिनी श्रेष्ठ दुईबहिनी छोरीका पिता एवं श्यामकुमारी श्रेष्ठका पतिदेव गङ्गाराम श्रेष्ठ वि.सं. २०६६ साल कार्तिक १२ गते श्रीहरिबोधिनी एकादशीका पावन तिथिमा देवहसान हुनुभएको थियो ।
स्मृति ग्रन्थ विमोचन कार्यक्रममा विचार संघ नेपालका उपदेष्टा तुलसीराम सापकोटा, अद्वैत संस्था संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ऋषिराम बास्तोला, विचार संघ नेपालका अध्यक्ष नारायण गौतम, प्रभातकुमार जोशी, विमलदेव श्रेष्ठ, चुननारायण श्रेष्ठ, राजन गौतम लगायतले गंगारामको बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आध्यात्मिक, सामाजिक, शैक्षिक, पारिवारिक खण्ड र परिशिष्ट समेत पाँच खण्डमा विभाजित यस स्मृति ग्रन्थ विमोचन कार्यक्रम उहाँका माहिला सुपुत्र विनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । विमोचन कार्यक्रममा गङ्गाराम श्रेष्ठका काहिँला सुपुत्र अनुकुल श्रेष्ठ (प्रणव) ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन बुहारी डा. सुरक्षा श्रेष्ठले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>