चितवन विशेष

युवालाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्षको अवसरमा चितवनमा आज कन्सर्ट हुँदै

Banner

चितवन, चैत ३१-

युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा आज कन्सर्ट गरिँदै छ । नारायणगढस्थित नारायणी नदी किनारमा आज एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट गर्न लागेको हो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुले सह प्रायोजन गरेको छ ।

कन्सर्टमा चर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहने छ । कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्याण्डको प्रस्तुती रहने छ । दिउँसो ३ बजेबाट सुरु हुने कन्सर्ट राति नयाँ वर्षको स्वागत गरेसँगै सकिने छ ।

युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न युवाहरुले रुचाउने सांगितीक ब्याण्ड ल्याएर कन्सर्टमार्फत रक्तदानप्रति उत्प्रेरणा जगाउन खोजिएको आयोजकले जनाएको छ । कन्सर्टमार्फत रक्तदानको चेतना फैलाउने लक्ष्य राखिएको छ ।

साथै कन्सर्टबाट हुने आम्दानीबाट ब्लड एप्स बनाउने लक्ष्य आयोजकले लिएको छ । डेटा बेस म्यानेजमेन्ट सिस्टम राखेर एप्स बनाइने र एप्समा गएर आफूलाई चाहिएको रगत ग्रुप भएका मानिसहरु खोज्न सकिने तथा एप्सबाटै रक्तदानका लागि अपिल गर्न सकिने छ । यी लगायतका विभिन्न विशेषता समेटेर रगतको अभाव हटाउन ब्लड एप्स बनाउने योजना रहेको आयोजकले जनाएको छ । कम्तिममा १५ लाख बराबरको एप्स बनाउने तयारी गरिएको छ ।

‘म्युजिक फर ब्लड’ को नारा नै दिएर सांगितिक कार्यक्रमको तयारी यतिखेर पूरा भएको छ । एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>