चितवन विशेष

नारायणी किनारमा गुञ्जिने छन् यी चर्चित पाँच ब्याण्ड

Banner

चितवन, चैत २३–

नयाँ वर्षको स्वागत गर्दै नारायणी नदी किनारमा भव्य सांगीतिक कार्यक्रम हुँदैछ । ‘मिसन रेड न्यू इयर फेस्ट–२०८२’ सांगीतिक कार्यक्रमको अहिले तयारी तीव्र पारिएको छ ।

नारायणी किनारलाई गुञ्जायमान बनाउन चर्चित सांगीतिक ब्याण्डहरुको उपस्थिति हुँदैछ । एकै दिन यति धेरै चर्चित ब्याण्डहरुको प्रस्तुती सायदै चितवनमा पहिलोपटक होला । कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच ब्यान्डले बेजोड प्रस्तुति दिँदैछन्।

एसडी ईभेन्ट्स एण्ड म्यानेजमेन्टले ‘मिसन रेड न्यू इयर फेस्ट’ नामक भव्य सांगीतिक कन्सर्ट गर्ने जमर्को गरेको हो । सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले भव्य सांगीतिक कन्सर्ट आयोजना गरिएको आयोजकको दाबी छ। कन्सर्टमा चितवन सहित अन्य छिमेकी जिल्लाहरु साथै नेपालभरबाट हजारौ दर्शकहरु आउने अपेक्षा गरिएको छ ।

चैत्र ३१ गते साँझबाट सुरु हुने भव्य कन्सर्टमा करिब १५००० बढी दर्शक आउने आयोजकको अनुमान छ। यी पाँच ब्याण्डको प्रस्तुतिको मनोरञ्जनका लागि खल्ती एप मार्फत अनलाइन टिकटको समेत व्यवस्था गरिएको छ।

एसडी फाउण्डेशनले चितवनसहित देशभर देखिएको रगत अभाव हटाउन ‘मिसन रेड’ अभियान सञ्चालन गरिरहेको छ। अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन्। ‘मिसन रेड’ अभियानले एक वर्षभित्र ५००० पिन्ट रगत संकलन गर्ने, १०००० युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २००० पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

भव्य कन्सर्टमा यी चर्चित ब्याण्डहरु दिँदै छन् प्रस्तुतीः

१.मन्त्र ब्यान्डः

मिसन रेड अभियान अन्तर्गत आयोजित भव्य कन्सर्टमा चर्चित मन्त्र ब्याण्डको बेजोड प्रस्तुति रहनेछ। मन्त्र ब्यान्ड नेपाली संगीत पारखीहरुको लागि चर्चित र लोकप्रीय नाम हो । यस ब्यान्डले आफ्नो संगीत मार्फत नेपालसँगै विभिन्न देशमा भव्य कन्सर्ट सम्पन्न गरेर हजारौं दर्शकको मन जितिसकेको छ। यो ब्यान्ड नेपाली सांगीतिक क्षेत्रमा पुरानो र एतिहासिक ब्याण्डमा पर्दछ । ब्याण्डले विगत २५ वर्षदेखि निरन्तर आफ्नो संगीत मार्फत नेपालीलाई सुमधुर संगीतको सुर,धुन र तालमा झुमाईरहेको छ। ‘बिर गोर्खाली गोर्खाली’, सधैँ सधैँ’ लगायत गितहरु यस ब्याण्डका चर्चित गीत रहेका छन्। मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको हो ।

२. कुटुम्ब ब्यान्डः

चितवनमा हुन लागेको भव्य सांगीतिक कन्सर्टमा आउन लागेको अर्को चर्चित ब्यान्ड हो ‘कुटुम्ब ब्याण्ड’। यस ब्याण्ड आफ्नै मौलिक शैलीका कारण नेपाली सांगीतिक क्षेत्रमा गर्विलो स्थानमा छ। कुटुम्बले देशमा मात्र नभई विदेशमा पनि सांगीतिक प्रस्तुति दिँदै आएको छ। जति विदेशमा प्रस्तुति दिएपनि आफूहरु स्वदेशमै नेपाली संगीतका पारखिहरुसंग झुम्न रुचाउने ब्याण्डका कलाकार बताउँछन्। २० वर्ष देखि सुरु भएको निरन्तर सांगीतिक यात्रामा कुटुम्बले संगीतमार्फत स्वयमंसेवा गर्न सकिने सन्देश प्रवाह गर्न सफल भएको छ। कुटुम्ब ब्याण्डका सदस्यहरु आफ्नो सफलताको मापन सामाजिक कार्यमार्फत गर्ने गरेको बताउँछन्।
कुटुम्ब सांगीतिक समूहले नेपाली मौलिक धुन र लोकप्रिय रचनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै नेपालको सांगीतिक सम्पदामा गर्विलो इतिहास कोरेको छ । ब्याण्डका समूहमा अरुण मानन्धर, पभित महर्जन, राजु महर्जन, किरण नेपाली र सिद्धार्थ महर्जनले मादल, बाँसुरी र सारङ्गीको धुन मार्फत दर्शकको मन मस्तिष्कमा बास बस्न सफल छन् ।

३. द एक्स ब्याण्डः

नेपाली संगीतमा अर्को चर्चित ब्याण्ड हो –‘द एक्स ब्याण्ड’। ‘तिम्रो नजरले’ , ‘एउटा चिठीको सहाराले’ , ‘बाईरोडको बाटोमा’ , ‘ठाडो जाने उकालो’ लगायत चर्चित गीतहरु यस ब्याण्डका रहेका छन्, जो अहिलेपनि नेपाली दर्शकहरुको मन मस्तिष्कमा ताजा छ्न्। नारायणी नदी किनारमा हुने कन्सर्टमा ‘द एक्स ब्याण्ड’ले पनि दर्शकहरुलाई भरपुर मनोरन्जन दिने आयोजकको दाबी छ।

४.समीर श्रेष्ठ एण्ड गुड बोइजः

समीर श्रेष्ठलाई पछिल्लो समय नचिन्ने र नसुन्ने सायदै होला, नयाँ पुस्तामाझ लोकप्रीय नाम हो समीर श्रेष्ठ । समीरले सन् २०२१ मा’ चार देवार गीत’बाट आफ्नो सांगीतिक यात्रा सुरु गरे । सन् २०२२ मा उनको गीत ‘तिमि भएर’ नेपाली दर्शकमाझ लोकप्रिय बन्यो, जसबाट उनले दर्शकको अत्याधिक माया पाए । सन् २०२२ मा उनले ‘मायालु सुनन ‘गीत रिलिज गरे । यस्तै सन् २०२३ मा ‘उनी ,जे छौ तिमि’ गीत लिएर आए, जुन युट्युबमा ट्रेण्डिङमा पर्यो , जसले उनलाई नेपाली सहित अन्तर्राष्ट्रिय दर्शकहरूमाझ थप परिचित बनायो।
उनको पहिलो डेब्यु गीत थियो ‘चार देवर’, जुन सन् २०२१ मा रिलिज भएको थियो । उनको ‘तिमि भएर’ , ‘मायालु सुनन’ , ‘जे छौ तिमी’ लगायत तीतहरु चर्चित छन् ।

५. केहर एण्ड जोएः

यही चैत्र ३१ गते चितवनमा हुने भव्य सांगीतिक कन्सर्टमा ‘केहेर एण्ड जोए’ले आफ्नो बेजोड प्रस्तुति दिँदै छ। संगीत मार्फत मन्त्रमुग्ध बनाउन युवाहरुमाझ लोकप्रिय यस ब्याण्डले चितवनमा बेजोड प्रस्तुति दिन लागेको हो।

केहर लिम्बु पछिल्लो युवापुस्तामाझ चर्चित नाम हो । लिम्बुका धेरै गितहरु लोकप्रिय छन् । उनी नेपाली सांगीतिक आकाशमा पछिल्लो समय उदाउँदो तारा हुन जसको स्वरमा झुम्ने पछिल्लो समयमा धेरै रहेका छन ।’ सरर सरर’, ‘ बैगुनी ‘, ‘तिमिलाई सम्झेर’, आजकल ‘ लगायत धेरै गीतहरु उनका नयाँ पुस्तामाझ चर्चित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>