Breaking News

रिमझिमकलीले जन्माएको छावाको नाम ‘दीपगज’, ‘थान’ छाडेर निस्किए जंगल

Banner

चितवन, चैत २०–

सुन्दा अचम्म लाग्न सक्छ । हात्तीको छावाको पनि न्वारन । हो हात्तीको छावाको पनि मानिसकै जस्तै न्वारन गरिन्छ । बुधबार चितवनको पर्यटकीय नगरी सौराहाको खोरसोरस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्रमा १२ दिन अघि जन्मिएको छावाको विधिपूर्वक न्वारन गरिएको छ ।

चैत ८ गते मध्यराति १२ बजेर ५ मिनेट जाँदा रिमझिमकलीले २२ महिना ८ दिनको गर्भधारणपछि छावालाई जन्म दिएको १२औं दिनमा बुधबार उनको न्वारन गरिएको हो । नेपाली परम्परा अनुसार पुजारी रेशप पौडेल र माहुत रामदयाल चौधरीले पूजापाठ गरेर छावाको न्वारन गरे । त्यसपश्चात चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले छावाको नाम दीपगज नामाकरण गरिएको घोषणा गरे । उनले छावालाई माला लगाई दिए अनि रिमझिम कलीलाई पोषिलो खीरलगायत परिकार खुवाई दिए । ‘हात्तीको छावाको न्वारन गर्ने चलन हाम्रो प्रजनन् केन्द्र स्थापना भएदेखि नै चलि आएको हो, हामी के नाम राख्ने भनेर निकुञ्जमा छलफल ग¥यो’ प्रमुख संरक्षण अधिकृत पन्तले भने ‘भाले छावाको नाम पछाडी गज वा प्रसाद राख्ने चलन छ यसको नाम दीपगज राखेका छौं ।’

११ वर्ष ९ महिनाकी रिमझिमकली सुकिभार पोष्टमा खटिएकी थिइन् । त्यसैबेला जंगली हात्ती ‘ध्रुवे’संग संसर्गपछि रिमझिमकलीले गर्भधारण गरेकी थिइन् । त्यसपश्चात उनलाई केही समयपछि प्रजनन्का लागि खोरसोर ल्याइएको हात्ती प्रजनन् तथा तालिम केन्द्रका प्रमुख मनपुरन चौधरीले बताए । २२ महिना ८ दिनमा रिभझिम कलीले भाले छावालाई जन्म दिइन् । हात्तीले २२ देखि २४ महिना भित्रमा छावालाई जन्म दिने गरेको छ ।

छावाको न्वारनको लागि खोरसोरमा विहान ८ बजेदेखि नै तयारी थियो । रिमझमकलीलाई सिंगारिएको थियो । मिठो परिकार बनाएर राखिएको थियो । हात्ती बस्ने घर ‘थान’को छेउमै पूजारी रेशम पौडेल र माहुत रामदयाल चौधरी पूजाआजामा व्यस्त थिए । जसरी मानिसको न्वारन गरिन्छ त्यसैगरि पूजारी रेशम मन्त्र पढेर पूजाआजा अघि बढाए । ‘मानिस र यो हात्तीको न्वारनमा केही फरक छैन, विधि सबै एउटै हो’ पूजारी पौडेलले भने ‘हात्तीको न्वारनमा होम गरिदैन त्यति फरक हो ।’ उनका अनुसार भारतमा भने हात्तीको न्वारनमा होम समेत गर्ने गरिएको छ । उनी केही समय भारतमा पनि हात्तीको न्वारन गर्ने कार्यक्रमा सरिक थिए । नेपाल आएयता ९ वटा हात्तीको पौडेलले न्वारन गरिसके ।

न्वारन सकिएपछि बुधबारबाटै छावा दीपगज हात्ती बस्ने घर अर्थात् ‘थान’बाट बाहिर निश्किन पाए । रिमझिम कली र दीपगजलाई माहुत दिलिप चौधरी र रामदयाल चौधरीले नजिकैको जंगल र खोला लगेर हिडडुल गर्न सिकाए । ‘११ दिनसम्म छावा आमाको दूध खाँदै थानमै बस्यो, अब न्वारन गरिएपछि उसलाई हिँडडुल गर्न सिकाउन आजबाट बाहिर निकालेका छौं’ माहुत रामदयाल चौधरीले भने । जन्मिएको २ घण्टापछि नै उभिन सक्ने भए पनि सुरुका केही महिना उसलाई हिडडुल गर्न कठिन हुन्छ । जतिबेला पनि छावा आमाको खुट्टाभित्र पस्न खोज्छ । २ वर्षसम्म हिडडुल र खान पिउन सिकेपछि उसलाई त्यहाँ तालिम दिइन्छ । अहिले सुत्केरी रिमझिमकली र दीपगको स्याहारमा खटिएका छन् माहुत दिलिप, रामदयालसंगै ज्ञानसागर चौधरी । रामदयालका अनुसार सुत्केरी रिमझिमकलीको अहिले विशेष स्याहार गरिएको छ । सामान्यतया हात्तीलाई दिनमा १५ किलो धान, डेढ किलो भेली, २५ ग्राम नुन खुवाईन्छ । सुत्केरी भएपछि त्यसमा सवा किलो चना, जुवानो, मेथी, भेलीलगायतका परिकार थप गरेर खुवाउने गरिएको रामदयालले बताए ।

हात्ती प्रजनन् तथा तालिम केन्द्रका प्रमुख मनपुरन चौधरीले अहिले नजिकै जंगलमा सामान्य हिडडुल गर्न सिकाउने गरिएपनि २ वर्षपछि आमाबाट छुटाएर छुट्टै तालिम प्रदान गरिने बताए । ‘२ वर्षसम्म आमासंगै रहन्छ, त्यसपछि उसलाई छुटाएर प्रशिक्षण दिन्छौं मनपुरनले भने ‘तालिम पश्चात विभिन्न निकुञ्जको पोष्टहरुमा सुरक्षार्थ पठाउँछौं ।’ यस केन्द्रमा यसवर्ष मात्र ४ वटा छावाको जन्म भएको छ । ती सबै भाले छावा हुन् । अर्को वर्ष थप ४ वटा छावा जन्मिने अवस्थामा छ ।

वि.सं.२०४४ सालमा हात्ती प्रजनन् केन्द्रको स्थापना भएसंगै यहाँ छावा जन्मिन सुरु भएको हो । स्थापनाको ६ वर्षसम्म केन्द्रमा कुनै पनि जन्मिन नसकेको दुःखको क्षण सम्झन्छन् त्यसबेलाका कर्मचारी रामेश्वर चौधरी । ‘छावा नजन्मिदा धेरै पटक हामी गाली खायौं, पछि धेरै बच्चा जन्मिदा स्याहार गर्न कर्मचारी नपुगेर बन्ध्याकरण गरौं भन्ने परिस्थितिमा पुग्यो’–२०७० सालमा केन्द्रको प्रमुख पदबाट अवकाश पाएका रामेश्वरले सम्झिए ।

यस केन्द्रमा २०५० सालमा पहिलोपटक वीरेन्द्र प्रसाद र रामप्यारीले बहादुर गजलाई जन्म दिएको थियो । सुरुमा केन्द्रकै भाले वीरेन्द्र प्रसादको संसर्गबाट छावाको जन्म भएपछि २०५३ सालपछि जंगली भाले हात्तीको संसर्गबाट छावा जन्मिन थाले । पहिलोपटक जंगली हात्ती रोमियोबाट गर्भधारण गरेकी भृकुटीकलीले रामगजलाई जन्म दिएकी थिइन् । शाहीकालमा हात्तीको छावाको नामाकरण राजादरबारले गर्ने गरेको रामेश्वरले बताए । ‘त्यसबखत दरबार आफ्ना र परिवारको नामबाट छावाको नामकरण गरिदिन्थे । कतिपयको निकुञ्जका हाकिम, नदीनाला, देवीदेवताको नामबाट पनि नामाकरण गर्ने चलन थियो ।’–रामेश्वर भने । त्यसबेला छावाको नामाकरण हुन ३ सातासम्म लाग्ने गरेको उनले सुनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>