खेलकुद
नेपाल कराते महासंघले एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गर्ने

बारा, चैत १०–
नेपाल कराते महासंघले कराते खेलाडी एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गर्ने भएको छ । बाराको निजगढमा सम्पन्न महासंघको दोस्रो वार्षिक साधारणसभाले एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गर्ने निर्णय गरेको हो ।
साधारणसभाले विश्व कराते महासंघ निर्देशन अनुसार विधानमा आवश्यक संसोधन गर्ने, प्रशासनिक तथा व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने, राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक तथा टिम म्यानेजर सम्बन्धी कार्यविधि पारित गर्ने निर्णय गरेको महासंघका कोषाध्यक्ष तथा राष्ट्रिय टिम म्यानेजर किशोर भट्टराईले जानकारी दिए ।
यस्तै महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गर्ने, राष्ट्रिय कराते एकेडेमीको कार्यविधि पारित गर्ने, प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्ने, महासंघमा रिक्त पदहरुमा अध्यक्षलाई मनोनयन गर्ने अधिकार प्रदान गर्ने तथा मनोनित सदस्यहरु अनुमोदन गर्ने, राष्ट्रिय टिम प्रशिक्षक कुशल श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ र राष्ट्रिय टिम छनोट समिति संयोजक दावा गुरुङ र सदस्यहरुलाई दुई वर्षको पदक उपलब्धिका लागि धन्यवाद दिने निर्णय गरेको छ ।
साधारणसभामा ७ प्रदेशका ३५ प्रतिनिधि, विभिन्न कराते संघका १४ जना कार्यसमिति सदस्य, १७ पर्यवेक्षकलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । वार्षिक साधारणसभा माला लामाको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।