Breaking News
चितवनको इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र र शारदानगरमा नेविसंघ विजयी

चितवन, चैत ५-
चितवनका दुई वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । जिल्लाका निर्वाचन हुने १७ वटा क्याम्पसमध्ये शहिद स्मारक कलेज बखानपुर र चितवन इन्जिनियरिङ क्याम्पसमा मात्र निर्वाचन भएको हो ।
शहिद स्मारक कलेज बखानपुरमा मंगलबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघ(नेविसंघ)को प्यानल नै विजयी भएको छ । स्ववियु सभापतिमा नेविसंघका अनिष थापा, सचिवमा रोशनी काफ्ले र कोषाध्यक्षमा अनिष वि.क. निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा प्रत्यक्ष तर्फ विपना गुरुङ, विपना सुवेदी, विना गुरुङ, कमला थापा र सुवास अधिकारी निर्वाचित भएको नेविसंघले जानकारी दिएको छ ।
चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन । क्याम्पसको स्ववियु सभापतिमा प्रज्वल अधिकारी, सचिवमा सुमन थापा क्षेत्री र कोषाध्यक्षमा राजेश्वर दाहाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सुसान्त घिमिरे, प्रतिज्ञा न्यौपाने, विष्णु भट्टराई निर्वाचित भएका हुन । समानुपातिक तर्फ सदस्यमा अखिल (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले समान दुई/दुई र नेविसंघले एक सिट जितेका छन् ।
जिल्लाका तीन आङ्गिक र १४ पब्लिक क्याम्पसहरूमा स्ववियु निर्वाचन हुनुपर्ने भए पनि अनेरास्ववियु (नेकपा एकीकृत समाजवादी निकट), समाजवादी विद्यार्थी युनियन (जसपा निकट), अखिल समाजवादी (विप्लव निकट), अखिल क्रान्तिकारी (नेकपा बहुमत निकट) र लोकतान्त्रिक विद्यार्थी संघ (लोसपा निकट)ले निर्वाचन प्रक्रियामा असहमति जनाउँदै तालाबन्दी गरेपछि अन्य क्याम्पसमा भने मतदान हुन सकेन ।
चितवनका प्रमुख क्याम्पसहरू– वीरेन्द्र बहुमुखी क्याम्पस, सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी बहुमुखी क्याम्पस र मैयादेवी कन्या कलेजमा सन् २००८ (२०६५ साल) यता स्ववियु निर्वाचन हुन सकेको छैन । विद्यार्थी संगठनहरूले हार्ने डरले हरेक निर्वाचनमा तालाबन्दी गर्ने गरेको आरोप लाग्दै आएको छ । यस वर्ष पनि सोही रणनीति अपनाइएको देखिन्छ । वीरेन्द्र बहुमुखी क्याम्पसका निर्वाचन समितिका संयोजक दयाराम पौडेलका अनुसार सोमबार साँझसम्म विद्यार्थी संगठनबिच सहमती हुन नसकेपछि निर्वाचन गराउन नसकिएको हो ।