खेलकुद
भरतपुर मेयर्स कप क्रिकेटः उपाधिका लागि अर्किड र नारायणी नमुना मावि भिड्ने

चितवन, फागुन २२–
दुई महिनादेखि चलिरहेको भरतपुर मेयर्स कप अन्तरविद्यालय लिग क्रिकेटको उपाधिका लागि अर्किड इङलिस स्कुल र नारायणी नमुना मावि भिड्ने भएका छन् । उपाधि भिडन्त शनिबार विहान ९ बजेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।
साविक विजेता अर्किडले सेमीफाइनलमा लक्ष्मी मावि लंकुलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने नारायणी नमुना माविले चितवन माविलाई पराजित गर्दै अर्किडसंगको भेट पक्का गरेको हो । प्रतियोगितामा नेटरनरेटको आधारमा चितवन मावि तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ भने लक्ष्मी मावि चौथो स्थानमा रहन सफल भयो । यी चार टिमले अब तेस्रो संस्करणको भरतपुर मेयर्स कप क्रिकेटको सिधै लिग चरणमा प्रवेश पाउने छ । यसपटक वाल्मीकि शिक्षा सदन, सनराइज इङलिस स्कुल, नारायणी नमुना मावि र अर्किड सिधै लिग चरणमा प्रवेश पाएका थिए । लिग चरणमा समावेश कुल १० टिम मध्ये ६ टिम विभिन्न नकआउट छनोट चरण पार गर्दै लिग चरणसम्म पुगेका थिए ।

दोस्रो संस्करणमा साविक उपविजेता वाल्मीकि शिक्षा सदन पाँचौं स्थानमा रहन पुग्यो भने नारायणी इङलिस पब्लिक स्कुल छैटौं, अरोमा कलेज सातौं, सनराइज आठौं, प्रेरणा नवौं र हिमालय दण्डपानी मावि पुछारमा रह्यो ।
विजेताले आकर्षक रनिङ शिल्ड पाउने छ । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघ, भरतपुर महानगर क्रिकेट संघ, चितवन राइनोजको सहकार्यमा गत पुस १९ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । यस प्रतियोगितामा भरतपुरका कुल ४७ विद्यालयको सहभागिता रहेको छ भने फाइनलसहित कुल ६० खेल हुनेछन् ।
























