खेलकुद
भरतपुर मेयर्स कप क्रिकेटः चितवन मावि विजयी, सेमीफाइनल समीकरण पूरा

चितवन, फागुन १८–
भरतपुर महानगरपालिकाको आयोजनामा जारी भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगिताको लिग चरणको आफ्नो अन्तिम खेलमा चितवन मावि विजयी भएसंगै सेमीफाइनल सूमीकरण पूरा भएको हो । लिग चरणको समूह ‘ए’ बाट साविक विजेता अर्किड सेकेण्डरी स्कुल समूह विजेताको रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ भने चितवन मावि समूह उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको हो । अर्किड लिगको चार खेलमै विजयी हुँदै ८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
चितवन मावि ४ खेलमा ३ मा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । साविक उपविजेता वाल्मीकि शिक्षा सदन ४ अंकका साथ तेस्रो रहँदै प्रतियोगिताबाट बाहिरिएको छ भने नारायणी इङलिस पब्लिक २ अंकका साथ चौथो र हिमालय दण्डपानी मावि सबै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा पुछारमा रह्यो ।
यस्तै समूह ‘बी’ बाट नारायणी नमुना मावि र लक्ष्मी मावि लंकु सेमीफाइनलमा प्रवेश गरेका छन् । नारायणी नमुना मावि जारी लिगमा अन्तिम खेल खेल्न बाँकी छदै ६ अंकका साथ शीर्ष स्थानमा छ । उसले अन्तिम खेलमा भोलि समूहको पुछारमा रहेको प्रेरणा इङलिस स्कुलसंग खेल्नेछ । उक्त खेलमा पराजित भए पनि नारायणी सेमीफाइन पुग्ने निश्चित भएको हो । लक्ष्मी मावि ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ दोस्रो स्थानमा छ ।
पहिलो संस्करणको सेमीफाइनल खेलेको सनराइज २ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने प्रतियोगिताबाट पनि बाहिरिएको छ । अरोमा हालसम्म २ अंकका साथ चौथो र प्रेरणा २ अंकका साथ पुछारमा छ । अन्तिम खेलमा प्रेरणा विजयी भएमा समूहको तेस्रो स्थानमा उक्लिदै प्रतियोगिता टुङग्याउने छ भने पराजित भएमा पुछारमै रहने छ ।
गत पुसदेखि सुरु भएको प्रतियोगितामा सुरुमा सामुदायिक र संस्थागत विद्यालयहरुबीचको छुट्टाछुट्टै छनोट चरणका खेल भएका थिए । ४३ विद्यालयबीच भएको छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश गरेको थियो । पहिलो संस्करणका सेमीफाइनलमा पुगेका ४ टिम सिधै लिग चरण खेलेको थियो ।
चितवन मावि ४ विकेटले विजयी
समूह ‘ए’को अन्तिम खेलमा चितवन मावि विजयी भएको छ । लो स्कोरिङ खेलमा चितवन माविले नारायणी इङलिस पब्लिक स्कुललाई ४ विकेटले पराजित गरेको हो ।
नारायणी पब्लिकले दिएको ७४ रनको झिनो लक्ष्य पछ्याएको चितवन मावि १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । चितवन माविका लागि नितलेश साहले सर्वाधिक अविजित १८ रन बनाए भने अभिनन्दन यादवले १४ रन बनाए । नारायणी पब्लिकका लागि प्रविन रानाभाटले ६ ओभरमा २६ रन खर्चिदै ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । मनिष सुनारले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नारायणी पब्लिक १४.४ ओभरमा ७३ रनमा अलआउट भयो । उसका लागि कृष्ण मगरले ४२ रन बनाए । उसलाई सस्तैमा अलआउट गर्न चितवन माविका वेद प्रकाश साहले ५ ओभरमा २० रन खर्चिदै ६ विकेट लिए ।
























