क्रिकेट
भरतपुर मेयर्स कप क्रिकेटः नारायणी नमुना माविको लगातार तेस्रो जित

चितवन, फागुन ७–
भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा नारायणी नमुना माविले लगातार जित निकालेको छ । यो जितसंगै नारायणी नमुना समूह ‘बी’को शीर्ष स्थानमा यथावत रहेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको खेलमा नारायणी नमुनाले सनराइज इङलिस स्कुललाई ४४ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नारायणी नमुना माविले २८.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । उसका लागि आयुष गिरीले ३८ रन बनाए भने सबिन खरेलले १७ रन बनाए । सनराइजका निरज ठाकुरले ३ र मन्दिप यादवले २ विकेट लिए ।
१३९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सनराइज २७.३ ओभरमा ९४ रनमा अलआउट भयो । उसका लागि उज्जवल पटेलले १४ र मन्दिप यादवले १२ रन बनाए । सनराइजलाई अलआउट गर्न उमेश महतोले ३ र राहुल कुशवाहले २ विकेट लिए । नारायणी नमुना माविका उमेश महतो प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तरगत भोलि (बिहीबार) नारायणी इङलिस पब्लिक स्कुल र अर्किड इङलिस स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरुलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमीफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको हो । लिग चरणका खेलहरु रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाईदैछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमीफाइनलमा स्थान बनाउने छन् ।