Breaking News

चितवनमा साढे ३१ हजार किशोरीलाई एचपीभी खोप दिइँदै

Banner

चितवन, माघ २२-

पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीहरुलाई एचपीभी खोप दिने अभियान आजदेखि सुरु हुँदै छ । फागुन ६ गतेसम्म देशभर सञ्चालन हुने यो अभियानअन्तर्गत चितवनमा साढे ३१ हजार किशोरीहरुलाई एचपीभी खोप दिइँदै छ ।

यो अभियानसँगै एचपीभी खोपलाई नियमित खोप सेवामा समेत समावेश गरिनेछ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म पढ्ने छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप दिइनेछ ।

विश्व क्यान्सर दिवसको अवसरमा देशभर तोकिएको उमेर समूहका किशोरीलाई एचपीभी खोप दिने अभियान सञ्चालन हुन लागेको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए । उनका अनुसार चितवनमा ३१ हजार ५७० किशोरीलाई खोप लगाइनेछ । जसमा विद्यालय जाने ३० हजार १९२ जना र विद्यालय नजाने एक हजार ३७५ जना रहेका छन् । विद्यालय जाने किशोरीलाई विद्यालयमै र विद्यालय नजाने किशोरीलाई स्वास्थ्य केन्द्रमा खोप लगाइने उनले जानकारी दिए ।

खोप अभियानका लागि चितवनमा ४३३ वटा विद्यालयलाई खोप केन्द्रका रुपमा प्रयोग गरिने उनले बताए । जिल्लामा ४५५ जना स्वास्थ्यकर्मी र ९१० जना स्वयमसेवक परिचालन गरिने उनले जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन एचपीभी (ह्युमन प्यापिल्लोमा भाइरस) नामक भाइस विरुद्ध दिने खोप हो । एचपीभी भाइरस २०० भन्दा बढी प्रजातिका हुने उनी बताउँछन् । मानव शरिरमा क्यान्सर गराउने प्रजातिहरु १२ प्रकारका हुन्छन्, ती हुन् ः १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१, ५२, ५६, ५८ र ५९ । यी मध्ये सबैभन्दा बढी जोखिम १६ र १८ प्रजातिबाट हुने अध्ययनले देखाएको छ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातीबाट भएको पटेलले जानकारी दिए । उनका अनुसार नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार ३१३ जना अर्थात् औसत दैनिक चार जना महिलाले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउनु परेको देखिन्छ ।

‘एचपीभी खोप किशोरीलाई एक मात्रा दिइने छ । एक मात्रामा ०.५ मिलि हुन्छ । यो खोप सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागको मासुभित्र दिइन्छ’, पटेलले भने । अभियानसँगै नियमित खोप सेवामा सिकोलिन एचपीभी खोप प्रयोग गरिन्छ । यो खोपले प्रजाती १६ र १८ का कारणले हुने पाठेघरको मुखको क्यान्सर रोग न्युनिकरण प्रवभाकारी हुने अध्ययनले देखाएको उनले बताए ।

यो खोप विशेषत नौ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई दिइन्छ । यो खोप एक मात्रा लगाएपछि यसको पूर्णमात्रा हुन्छ । विगतमा एक मात्रा एचपीभी खोप लगाएका किशोरीले अर्काे मात्रा लगाउन जरुरी नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>