चितवन विशेष
जन्मदिनमा आफै पढेको विद्यालयमा पौडेलले दिए ‘मुना’ उपहार

चितवन, माघ २१–
पछिल्लो समय जन्मोत्सव विविध तरिकाले मनाउन थालिएको छ । कसैले धेरै खर्च गरेर रमाइलोका साथ मनाउँछन् त कोही शिक्षाको ज्योति छर्दै जन्मोत्वस मनाउँछन् ।
भरतपुरस्थित एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसका रिजनल म्यानेजर किरण पौडेल ‘नरहरि’ पनि शिक्षाको ज्योति छर्दै आफ्नो जन्मदिन विद्यार्थीसंग खुशी साटेर मनाएका छन् । आफू अध्ययन गरेकै नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बालपत्रिका ‘मुना’ उपलब्ध गराएर पौडेलले जन्मोत्सव मनाएका हुन् ।
विद्यार्थीहरूमा पढ्ने बानीको विकास गर्न मुनालगायतका पत्रिका उपयोगी हुने देखेर मुना वितरण गर्ने सोच बनाएको पौडेलले बताए । उनले भने–‘म पनि यहि स्कुलको विद्यार्थी हुँ, कक्षा १ देखि १० सम्म यहीँ पढेको हुँ । म आफू पनि सानो छँदा मुना पढ्थेँ, अहिले यो पत्रिका तपाईंहरुको लागि उपयोगी हुने उद्देश्यले उपलब्ध गराएको हुँ ।
पौडेलले सम्पूर्ण किताब नारायणगढसंग पुस्तक खरिद गरेर विद्यार्थीलाई बाडेका हुन् । सम्पूर्ण किताबले विद्यार्थीहरूलाई अध्ययनशील बनाउन विभिन्न व्यक्तिका जन्मदिन तथा अन्य विशेष समारोहमा मुना, युवामञ्च, मधुपर्कलगायतका पत्रिका, किताब वितरण गर्दै आइरहेको छ । यस्तै एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस र अङ्कुरम् एकेडेमीसँगको सहकार्यमा ‘म पनि पढ्छु’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मुना वितरण कार्यक्रममा सहभागी भएका पत्रकार विनोदबाबु रिजालले ‘मुना’लगायतका पत्रपत्रिका विद्यार्थीका लागि उपयोगी हुने बताए । पठन संस्कृति प्रबर्द्धनका अभियन्ता लेखराम सापकोटाले अतिरिक्त किताब पढेर विद्यार्थीलाई सिर्जनशील बन्न आग्रह गरे ।