चितवन विशेष

चितवनको रत्ननगरमा नेकपा एमालेको नगर अधिवेशन सुरु, बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलद्धारा उद्घाटन

Banner

रत्ननगर,माघ १९-

नेकपा एमाले रत्ननगर नगर कमिटीको १०औं नगर अधिवेशन सुरु भएको छ । रत्ननगर वडा नं १ सौराहाचोक स्थित होटल गंगोत्री हाइवेमा सुरु भएको अधिवेशनको नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल उद्घाटन गरेका थिए । सो अबसरमा उनले सुकुमबासीलाई लालपूर्जा वितरण, विकास निर्माण र भष्टाचार नियन्त्रणको लागि सरकारले अध्यादेश जारी गरेको बताए । सासन सत्ता टिकाउन नभइ विकास निर्माण र जनतालाई छिटो सेवा दिन सरकारले अध्यादेश ल्याएको उनले स्पष्ट पारे । नेता पोखरेलले राजनीतिक स्थायित्वका लागि काँग्रेस र एमालेको सहकार्य भएको बताए । मुलुकलाई बचाउन एमाले र काँग्रेसको गठबन्धन बनेको भन्दै उनले २०८४ को निर्वाचनमा दुई दल बीचमा प्रतिस्पर्धा हुने बताए ।

काँग्रेस र एमाले बीचको प्रतिस्पर्धा सधै रहेको भन्दै उनले आगामी निर्वाचनमा दुई ठुला दलको बीचमा प्रतिस्पर्धा हुने तर्क गरे । स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले विचार र सिद्धान्तको हिसाबले एमाले मुलुकको सर्वोत्कृट पार्टी भएको बताए । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले एमालेलाई पुरानै अबस्थामा फर्काउन पार्टी निर्माणको कामलाई सुत्रबद्ध तरिकाले अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा पार्टी निर्माणमा योगदान गरेका गोकर्ण कट्टेल, बालकृष्ण कोइराला, मानबहादुर तामाङ, पूर्णमान श्रेष्ठ, खड्गकुमारी ढुंगाना, छाँयादेवी गौतम, हर्कबहादुर अधिकारी, धनवीर महतो, टंकप्रसाद ढकाललाई सम्मान गरिएको नगर कमिटी सचिव शिव सुवेदीले जानकारी दिए । कार्यक्रममा पोलिटव्यूरो सदस्य देवी ज्ञावली, केन्द्रीय सदस्य जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, वागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष इमानसिंह लामा लगायत जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, नगर कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटनसत्रमा केन्द्रीय सदस्यहरु प्रभा बराल, कपिलदेव पोखरेल, स्थायी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज टीका पौडेल, जिल्ला अध्यक्ष कमलराज पाठक, रत्ननगरका संस्थापक मेयर नारायण वन, उपमेयर यादव प्रसाद पाठक, कालिका नगर कमिटीका अध्यक्ष केशब लामा, लगायतले मन्तव्य राखेका थिए ।

अधिवेशन उद्घाटन पूर्व रत्ननगरको टाँडी बजारमा भब्य शोभायात्रा निकालिएको थियो । अधिवेशनमा ३०० प्रतिनिधि सहभागी अधिवेशनले आगामी कार्यकालको लागि अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित ७५ सदस्यीय नगरकमिटी चयन गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>