चितवन विशेष
भाटभटेनीले तिर्नुपर्ने कर दोब्बर पार्ने दुई व्यक्ति चितवनबाट प्रकाउ

चितवन, माघ १२-
भाटभटेनी सुपर मार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत प्रवेश गरेर तिर्नुपर्ने भन्दा दोब्बर पारिदिने दुई जनालाई प्रकाउ गरेको छ । पर्वतको विहादी गाउँपालिका–३ स्थायी घर भई चितवन बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ घर भई चितवन बस्ने २२ वर्षीय पारिन पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आग्रहमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेकोे हो।
आन्तरिक राजस्व कार्यालयको कर प्रणालीमा आबद्ध भाटभटेनी सुपर मार्केटको कर खाताको ‘युजर आइडी’ र ‘पासवर्ड’ दुरुपयोग गरेर दोब्बर कर तिर्नुपर्ने गरी उनीहरुले विवरण मिलाएका थिए । उनीहरूले भाटभटेनीको कर प्रणालीमा प्रवेश गरेर राजस्वको दायरा भित्र आउने दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँको कर दायित्व (कर तिर्नुपर्ने रकम) छ करोड २६ लाख ९४ हजार १९ रुपैयाँलाई बढाएर १३ करोड नौ लाख ५९ हजार ६०९ पुर्याइदिएको प्रहरीले जनाएको छ ।
यसरी उनीहरूले राज्यको कर सूचना प्रणालीमा अनधिकृत प्रवेश गरेर भाटभटेनी सुपर मार्केटले तिर्नुपर्ने राजस्व दोब्बर पारेर कसुर गरेको सिआइबीले जनाएको छ ।
दुवै जनालाई सिआइबीले भरतपुर महानगरपालिका–३ स्थित बिहादी बिजनेस म्यानेजमेन्ट नामक अडिट कम्पनीको कार्यालयबाट पक्राउ गरेको हो । सिआइबीले उक्त अडिट कम्पनीका सञ्चालकलाई समेत खोजिरहेको छ।
भाटभटेनीको लेखा प्रणालीमा अनधिकृत करमा हेरफेर भएपछि आन्तरिक राजस्व कार्यालय लाजिम्पाटले पुस २५ गते सिआइबीलाई पत्र लेखेर अनुसन्धानका लागि आग्रह गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा यस्तो तथ्य फेला परेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले जानकारी दिए । त्यसपछि सिआइबीको आग्रहमा जिल्ला प्रहरी कार्यालय चितवनले माघ ५ गते उनीहरूलाई पक्राउ गरेको हो ।
‘दुवै जना माथि विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद (कम्प्युटर सम्बन्धी) कसुरमा अनुसन्धान भइरहेको छ,’ एसपी शाहीले भने । स्रोतः नागरिक
























