खेलकुद
राईजिङ्ग भरतपुर गोल्डकपको ट्रफि सार्वजनिक

चितवन, माघ १०-
चितवनमा हुन लागेको राईजिङ्ग भरतपुर गोल्डकप–२०८१को ट्रफि सार्वजनिक भएको छ । चितवन ११ फुटबल क्लब भरतपुर–१३ले भोलिदेखि गर्न लागेको गोल्डकपको आज(शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि ट्रफि सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेल आबुखैरहनी गाउँपालिका र पेङ्गुइन एडुकेशन भरतपुर २४ बिच हुने भएको छ । १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नेपाल जुनियर प्रहरी शिक्षालयको खेलमैदान भरतपुरमा हुनेछ । प्रतियोगितामा विभागिय टोली सहित ८ टिमको सहभागिता रहने चितवन ११ फुटबल क्लब भरतपुर–१३का अध्यक्ष शुशिल कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सरस्वती युवा क्लब, आबुखैरहनी गाउँपालिका, गैडाकोट फुटबल क्लब, बागमती युवा क्लब सर्लाही, सुर्यपुर युवा क्लब कालिका, र प्याराडाईज युवा क्लब चितवनको सहभागिता रहने छन् ।
प्रतियोगिताको प्रवद्र्धन राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, बागमती खेलकुद परिषद्, चितवन जिल्ला खेलकुद महासंघ, चितवन जिल्ला फुटबल संघ र भरतपुर खेलकुद विकास समितिले गरेका छन् । प्रतियोगिता फिफाको नियम अनुसार अध्यक्ष कार्कीले जानकारी दिए ।
गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापन्तिलाई दश हजार रुपैयाँ पुरस्कार राखिएको छ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।
























