खेलकुद

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिसको भिडन्त

Banner

काठमाडौं, माघ १-

जय ट्रफी पुरुष एलिट कपको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन्। खेल वीरगन्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजे सुरु हुने फाइनल खेल तीन दिवसीय हुनेछ।

लिग चरणबाट पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेका हुन्। पुलिसले दुई जित र एक बराबरीको नतिजा निकाल्दा आर्मीले दुई बराबरी र एक जित निकाल्यो।

लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेलेको थियो। यता आर्मीले बागमतीसँग पनि बराबरी खेल्दा मधेशलाई हराएको थियो।

आरिफ शेखको कप्तानीमा रहेको पुलिस लतिननारायण राजवंशी, कुशल भुर्तेल, अर्जुन साउद, गुल्शनकुमार झा, अमीत श्रेष्ठ जस्ता खेलाडीका साथ मैदान उत्रिने छ। ललित र अमीत आर्मीका लागि घातक बन्न सक्छन्। ललितले २ दशमलव ७८ को इकोनोमीमा १९ विकेट लिएका छन्। एक इनिङमा ४७ रन दिएर सात विकेट लिनु ललितको उत्कृष्ट प्रदर्शन हो।

यसैगरी अमीतले दुई अर्धशतकसहित २२४ रन प्रहार गरेका छन्। उनी उच्च रनकर्तामा मायन यदाव ९२६८० भन्दा पछाडि छन्। एक इनिङमा ७९ रन बनाउनु अमीतको उत्कृष्ट प्रदर्शन हो।

यसैगरी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीलाई शाहब आलम, बसिर अहमद, सोमपाल कामी, इम्रान, भीम सार्की जस्ता खेलाडीको साथ रहनेछ।

शाहब र बसिर पुलिसका लागि समस्या बन्नसक्छन्। उच्च विकेटकर्ता दौडमा अगाडि रहेका शाहबले २१ विकेट लिएका छन्। एक इनिङमा ५९ रन खर्चिएर आठ विकेट लिनु शाहको उत्कृष्ट प्रदर्शन हो।

यता बसिरले दुई अर्धशतकसहित १३७ रन बनाएका छन्। एक इनिङमा ६७ रन बनाउनु बसिरको उत्कृष्ट प्रदर्शन हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>