देश/प्रदेश
चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ ,भदौ २४ –
निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो । चार पटक म्याद थप गर्दासमेत नगरपालिकाको भवन कहिले पूरा हुने हो कुनै टुङ्गो छैन । तीन वर्षमा सक्नुपर्ने भवन पाँच वर्ष बित्दा पनि पूरा नहुने अवस्थामा पुगेपछि जनप्रतिनिधि आफैँ असन्तुष्ट भएका छन् ।
ढिलासुस्तीका कारण नगरपालिका भाडाको घरमा बस्दै आएको छ । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ । नगरपालिकाले बाध्य भएर निर्माण व्यवसायीको म्याद थप्दै आएको छ ।
निर्माण कम्पनी रविना–प्राकृतिक–जुगल जेभीले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि भवन निर्माणको म्याद चौथोपटक थपिएको छ । तेस्रोपटक थपिएको म्याद सकिएपछि नगरपालिकाले थप चार महिनाको समय दिएको हो ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार गत असार १५ गते तेस्रोपटक थपिएको म्याद सकिएपछि कार्यपालिकाको बैठकले २०८३ कात्तिक १५ गतेसम्म भवन निर्माण सम्पन्न गर्ने गरी चौथोपटक म्याद थप गरेको बताउनुभयो ।
“हामीले ताकेता गर्दा पनि भवन सकिने अवस्थामा छैन । यही अवस्थामा चौथोपटक थप गरिएको समयमा पनि पूरा हुने अवस्था छैन । ठूलो भवनमा चार÷पाँच जनाले काम गर्दा परिणाम आउँदैन,” शर्माले भन्नुभयो ।
नगरपालिकाले वार्षिक रुपमा रु २० लाख रकम भाडामा खर्च गर्दै आएको छ । विसं २०७८ फागुन २० गते तत्कालीन संस्थापक नगरप्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेको भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
भवनको हाल भौतिक प्रगति ७२ प्रतिशत बराबर पुगेको छ । भवनको मुख्य संरचना निर्माण सम्पन्न भए पनि पर्खाल, झ्याल–ढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङरोगन तथा पर्खाल तथा सजावटका काम बाँकी छ ।
भवन निर्माणका लागि निर्माण कम्पनीसँग रु आठ करोड १७ लाख ६५ हजारमा सम्झौता भएको थियो । स्थानीयले निःशुल्क उपलब्ध गराएको आठ रोपनी जग्गामा निर्माण भइरहेको भवन चारतले र ४२ कोठाको हुनेछ । रासस
























