विचार/ब्लग

ओभरलोड गाडीलाई दुई हजार जरिवाना गरी छाड्दा पुल र सडकमा ठूलो क्षति, अप्रिय घटना हुने डर

Banner

शिव खनाल

ठाँउठाँउमा भार बहन नियन्त्रणको नाममा राखिएका तौल पुल तथा धर्मकाँटाहरुमा तौल गरेर जति सुकै overload बोके पनि २ हजार जरिवाना तिराएर छाड्ने चलन व्याप्त नै रहेको छ। यो समस्या भन्सार बिन्दुदेखि, निर्माण सामग्री तथा कच्चा पदार्थ ढुवानी गर्ने सबै खाले मालबाहक सवारीमा पनि व्याप्त छ ।

सन् २०१८ मा यातातात व्यवस्था विभागले गरेको अध्ययन अनुसार सडकमा चल्ने ४१.७६% मालवाहक सवारीहरु Overloaded हुन्छन्। पृथ्वी राजमार्गको माझिमटारमा गरिएको सर्वेक्षण अनुसार ४५.७०% मालवाहक सवारी हरु Overloaded देखिएका छन्। Overload ले कम भार बहन क्षमतामा डिजाईन भएका हाम्रो पुराना पुलहरु र सडकमा नराम्रो असर गर्ने गरेकोले कुनै दिन अप्रिय घटना हुन सक्ने मेरो डर आज दुखद यथार्थमा परिणत भएको छ ।

नारायणघाट-बुटवल सडकको दुम्कीबासमा अवस्थित बिनयी त्रिवेणी खोला पुलको Steel Truss को एउटा Span आज साँझ अधिक भार बोकेको सवारीको कारण पूर्ण रुपमा क्षति भई यातायात सेवा ठप्प हुन पुगेको छ । Overloaded Truck ले कुनै Cement कारखानाको लागि भारतबाट कृष्णनगर भंसार हुँदै भारी उपकरण ढुवानी गर्दै गरेको बुझिएको छ। बैकल्पिक माध्यम स्वरुप सो पुलको तलपट्टि (Downstream) तर्फबाट साबिकको Diversion Road लाई मर्मत गरि बिस्तारै सवारी साधनहरुलाई सन्चालन गर्न थालिसकिएको छ भने पुलको नजिकैबाट Diversion Road निर्माण गर्न आवश्यक स्रोत साधनको परिचालन गरि सकिएको छ। भोली दिउँसोसम्ममा पुल नजिकैको Diversion Road बाट पनि सवारी सन्चालन गर्ने गरि आवश्यक तयारी गरिँदै छ। आखिर यसरी Overload किन बोक्छन, यसका असर र कानूनी व्यवस्थाहरु के छन् भन्ने विषयमा थोरै लेख्न मन लाग्यो।

कानूनमा के छ ?

सवारी तथा यातातात व्यवस्थापन ऐन २०४९ को दफा ११६- सवारीको वजन, दफा-११७ सवारीमा राख्ने मालसामानको हद तोक्न सक्ने व्यवस्था तथा सोही ऐनका दफा-१६० दण्ड सजायको उपदफा २ (क) बमोजिम निर्धारित क्षमता भन्दा बढी भार बोक्ने सवारी साधनहरुलाई पनि चालक अनुमती पत्र प्राप्त नगरि सवारी चलाउनेलाई सरहको कसुर मानि पाँच सयदेखि दुई हजारसम्मको जरिवाना लाग्ने व्यवस्था गरेको छ ।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, मालबाहक सवारी साधनको भारवहन नियमन सम्बन्धि निर्देशिका २०७४ ले अगाडि 2 वटा पाङ्ग्रा भएको Axle लाई 6.0 ton, पछाडि 4 वटा पाङ्ग्रा भएको Axle लाई 10.2 ton, पछाडि 8 वटा पाङ्ग्रा भएको 2 Axle Tandem लाई 19.0 ton, पछाडि 12 वटा पाङ्ग्रा भएको 3 Axle Tridem लाई 24.0 ton भार बोक्न सक्ने सिमा निर्धारण गरेको छ । यो हदको सिमाभित्र रहेर सामान बोक्दा कत्ति पनि नाफा कमाउन नसकिने र उल्टै घाटा हुने र सडकको दुरावस्थाको कारण थप क्षति व्यहोर्नु परेको सवारी धनिहरुको हुनासो रहने गरेको छ।

व्यवहारमा के छ ?

ठाँउठाँउमा भार बहन नियन्त्रणको नाममा राखिएका तौल पुल तथा धर्मकाँटाहरुमा तौल गरेर जति सुकै बढी भार (Overload) बोके पनि २ हजार जरिवाना तिराएर छाड्ने चलन रहेको छ।

असर के हुन्छ ?

बिनयी त्रिवेणी खोला पुल अधिक भारका कारण भत्किय जस्तै गरि अन्य पुराना र कमजोर क्षमताका पुल/कल्भर्टहरु रहेको ठाउँमा पनि यस्ता घटना दोहोरिन सक्छन् । सडकहरु छिटै दब्ने, भत्कने र जीण हुँदै जान्छन्। Overload ले सडकको क्षमता/आयुलाई Fourth-Power Rule अनुसारले घटाउँछ। उदाहरणको लागि १० टन overload बोक्ने सवारी साधनले सडकको क्षमता/आयुलाई ((10+10.2)/10.2)^4=15.38~~~ अर्थात झण्डै १६ गुणाले हानी गर्दछ भने Overload को मात्रा २ गुणाले बढाउँदा अर्थात २० टन Overload को कारण सडकको क्षमता/आयुलाई ‍= ((20+10.2)/10.2))^4=76.85~~~~ अर्थात झण्डै ७७ गुणा बढी हानि/क्षति गर्दछ । यसरी छिटो भन्दा छिटो सडक बिग्रनु र पुलहरु भत्कनुमा Overload प्रमुख कारणहरु मध्येको एक हो।

के गर्नु पर्छ ?

आजको जस्तो दुर्घटना नहोस् भन्नका लागि जसरी हुन्छ कडाईका साथ overload नियन्त्रण गर्नुपर्छ । बढि भार बोक्ने प्रयोजनका लागि धेरै Axle भएका सवारीको प्रयोग हुनु पर्दँछ । अधिक भार भएका उपकरणहरु (Eg: Hydropower का Penstock, Turbine, Generators, उध्योगसँग सम्बन्धित भारी उपकरणहरु आदि) लाई सम्भव भए सम्म निर्माता/उत्पादक लाई टुक्रा टुक्रा assemble गर्न मिल्ने प्रकृतिको बनाउन लगाउनु पर्छ।

सिमाभन्दा बढी भार बोक्ने सवारीलाई २ हजार जरिवाना तिराएर छाड्ने होईन, मिलेसम्म overload सामान झार्न लगाउने वा थोरै हद सम्मको सामानको लागि प्रत्येक थप १०० केजी overload को लागि Fourth Power Rule बमोजिम जरिवाना असुल गर्ने। पुलको हकमा प्रत्येक पुलको क्षमता मूल्यांकन गरेर सिमा निर्धारण गर्ने र सो व्यवस्थालाई कडाईका साथ लागू गर्ने। मालबाहक सवारी धनीहरुको समस्यालई पनि राज्यले यथोचित सम्बोधन गर्नु जरुरी छ।

लेखक शिव खनाल सडक विभागका इन्जिनियर हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>