समाचार
इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही, पुस २०-
सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ। हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ।
उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
प्रसाईं यही पुस १५ गतेदेखि बेपत्ता भएका थिए। पुस १५ गते बिहान ‘बरहथवा पैसा लिन जान्छु’ भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारजनले खोजी गरेका थिए। कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गराएका प्रहरी उपरीक्षक श्रेष्ठले बताए।
उनका अनुसार, प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिल समेतको उपस्थितिमा खाल्डो खनेर शव निकालिएको हो। प्रारम्भिक मुचुल्कापछि शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै उनीहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ।
प्रसाईंको हत्यापछि गाउँमा त्रास छ। प्रसाईंले इँटाभट्टा सञ्चालन गर्दै आएका थिए।
























