चितवन विशेष
‘३ महिनाको अन्तरालमा रक्तदान गरौँ’ लेखिएका स्टिकर ६०० वटा गाडीमा टाँसियो
चितवन, पुस १६-
‘३ महिनाको अन्तरालमा रक्तदान गरौँ’ लेखिएका स्टिकर सोमवार ६०० वडा गाडीमा टाँसिएको छ । मिसन रेड अभियानको आयोजनामा रक्तदान सम्बन्धि सचेतनामुलक स्टिकर लामो तथा छोटा दुरीमा चल्ने सार्वजनिक सवारी साधनहरुमा टाँसिएको हो ।
मिसन रेड अभियानले जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवन लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा स्टिकर टाँसेको हो ।
स्टिकर तथा ब्यानरमार्फत आम मानिसहरुमा रक्तदान सम्बन्धि सचेतना फैलाउने उद्धेश्य अनुसार सार्वजनिक सवारी साधनमा स्टिकर टाँसिएको मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले बताए । अभियानले डिजिटल प्लेटफर्म मार्फत पनि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए ।
स्टिकर टाँस्ने कार्यक्रममा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, जनस्वास्थ्य कार्यालय चितवनका प्रतिनिधि गुरु कँडेल, रोटरी क्लब अफ चितनवका द्धितिय उपाध्यक्ष एवम् चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष राजन पिया र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रतिनिधि लगायत सहभागी थिए ।
देशभर देखिएको रगतको चरम अभाव समाधान गर्न एसडी फाउन्डेसनले ब्लड डोनर्स सोसाईटी नेपालको सहकार्यमा मिसन रेड अभियान सुरु गरेको हो । मिसन रेडले हालसम्म रक्तदान कार्यक्रम तथा सचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ भने पुस १९ गते भरतपुर अस्पताल परिसरमा ‘मेरो पहिलो रक्तदान’ कार्यक्रम पनि आयोजना गर्दैछ।