चितवन विशेष
पुरानो व्यवस्था तर्फ फर्कन खोज्नेहरुसंग सजन बनौंः अध्यक्ष दाहाल
चितवन, पुस १०-
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुरानो व्यवस्था तर्फ फर्कन खोज्नेहरुसंग सजग रहन आह्वान गर्नुभएको छ । चितवनको कालिका नगरपालिका–५ मा रहेको पदमपुर आधारभूत विद्यालयको ७० औँ वार्षिकोत्सव तथा भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि पुरानो व्यवस्था तर्फ फर्कन खोज्नेहरुसंग सजग रहन आह्वान गर्नुभएको हो ।
‘संविधानले मौलिक हकलाई संरक्षण गरेको छ । समानुपातिक र समावेशिता पनि अगाडि बढेको छ । यी विषयमा बेलाबेलामा चार तिरबाट आक्रमण हुन खोजिरहेको छ’, अध्यक्ष दाहालले भन्नुभयो ‘पुरानो तिर फर्कन खोज्नेबाट सजग र सचेत हुन जरुरी छ ।’ ऐन कानुन बन्न ढिला हुँदा अहिलेको व्यवस्था तर्फ केही जटिलता आउनसक्ने संकेत गर्नुभयो ।
मौलिक अधिकारका हिसाबले नेपाल विकसित देशभन्दा धेरै माथी रहेको उहाँको भनाई छ । ‘संसारमा मै हुँ भन्ने देशका नागरिकले भन्दा हाम्रो देशका नागरिकले मौलिक अधिकार बढी पाएको दाबीका साथ भन्छौँ’, उहाँले भन्नुभयो ‘व्यवस्था अनुसार ऐन कानुन बनाउने कुरामा भने समस्या छ ।’ उहाँले स्वास्थ्य र शिक्षामा हुनुपर्ने प्रगती हुन नसकेको बताउनुभयो ।
‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा केही समस्या छ,’ उहाँले भन्नुभयो ‘भर्खरै संविधान बनेको छ भर्खर गणतन्त्र आएको छ । हामी प्राप्त उपलब्धिलाई रक्षा गर्दै अगाडि बढ्नुपर्छ ।’ अध्यक्ष दाहालले आवश्यक परेको समयमा संविधान संशोधन गर्न सकिने समेत बताउनुभयो ।