Breaking News
महिला यु-१९ विश्वकप खेल्ने नेपाली टिमको बन्द प्रशिक्षण भरतपुरमा हुने

चितवन, पुस ५-
आगामी जनवरीमा मलेसियामा हुने महिला यु-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण भरतपुरमा हुने भएको छ ।
भरतपुर महानगरपालिकाले बन्द प्रशिक्षणका लागि भरतपुर-१५ स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदान उपलव्ध गराउने भएपछि विश्वकप खेल्ने नेपाली टिमको बन्द प्रशिक्षण यहाँ हुन लागेको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले बन्द प्रशिक्षणका लागि मैदान उपलब्ध गराइदिन माग गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले पत्र पठाएकोले सोही अनुसार मैदान उपलब्ध गराउन लागिएको नारायणी अनलाइनलाइ जानकारी दिइन् ।
प्रमुख दाहालले पुस १० गतेदेखि हुने नेपाली टोलीको बन्द प्रशिक्षणले महिला विश्वकप पनि यहि रंगशालामा गर्न प्रेरणा मिल्ने बताइन् । उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यु-१९ विश्वकपको खेल पनि यहीँ रंगशालामा गराउने गरि महानगरले तयारी गरिरहेको बताइन् । यसका लागि क्यानसङ्ग पहल भइरहेको जानकारी दिइन् । विश्वकपलाई ध्यानमा राख्दै रंगशाला निर्माणको काममा पनि तिव्रता दिइएको उनले बताइन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा नेपाल प्रीमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि प्रशिक्षण गरेको थियो । त्यतिबेलै मैदान खेल्न योग्य बनाइएको थियो । अब महिला टिमको बन्द प्रशिक्षणका लागि भोलिदेखि नै मैदानको थप मर्मतको काम सुरु गरिने भरतपुर महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार बन्द प्रशिक्षण शिविर यहीँ पुस १० गतेदेखि २४ गतेसम्म हुनेछ । यहीँ प्रशिक्षणबाट छ्नोट हुने अन्तिम टोली सिधै विश्वकप खेल्न मलेसिया जानेछ । नेपाली टोली अहिले एशिया कप खेल्न मलेसियामा नै छ । फाइनल पुग्न नसकेको नेपाली टोली भोलि नै स्वदेश फर्किदैछ ।
























