Breaking News
गौतमबुद्ध क्रिकेट रंगशालामा प्याराफिट निर्माणको काम सुरु, १३ प्रतिशत काम सकियो
चितवन, पुस १–
चितवनको भरतपुर–१५, स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्याराफिट निर्माणको काम सुरु भएको छ । अहिले स्ट्याण्ड १ मा प्याराफिट निर्माणको काम सुरु भएको हो ।
क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट निर्माणको काम थालिने छ । भीआइपी टावर १ मा उपर बीमको काम अन्तिम चरणमा पुगेको छ । लगत्तै पहिलो तलाको काम अघि बढ्ने प्रोजेक्ट म्यानेजर इन्जिनियर वीरेन्द्र कुमार यादवले जानकारी दिए । उनका अनुसार टावर २ को भने लोवर बीमको काम अन्तिम चरणमा पुगेको छ । यस्तै रंगशालाको मैदानको काम अघि बढाउन माथिल्लो भागको माटो निकालिएको छ । अब छिट्टै पानी निकासका लागि उच्चस्तरीय प्रविधि जडान गर्ने तयारी रहेको यादवले बताए ।
आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसंगको समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाएको हो । नयाँ सम्झौता अनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।
रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुई वटा भीआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माणको काम गर्नेछ । धुर्मुुस सुन्तली फाउण्डेशनले यसअघि नै ५ हजार क्षमताको प्याराफिट निर्माण गरि सकेकाले यो काम सकिएपछि रंगशालाको कुल क्षमता १५ हजार पुग्ने छ । गत असार २३ गते ७८ करोड ५० लाखमा ३० महिना भित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मिति भन्दा अगाडि नै काम सक्ने निर्माण कम्पनीको तयारी छ ।