खेलकुद

एनपीएल : पहिलो जितको खोजीमा आज कर्णाली, लुम्बिनी र पोखरा

Banner

काठमाडौं, मंसिर २१-

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार बिहान ९ बजे सुरु हुनेछ। सुरुवाती २ खेलमा हार व्यहोरेको कर्णाली पहिलो जितको खोजीमा रहँदा चितवन अपराजित यात्रा कायम राख्न चाहन्छ।

स्टार खेलाडीको साथ पाएको कर्णालीले सुरुवाती दुई खेलमा कुनै अंक जोड्न सकेको छैन। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग ३ विकेटले हारेको थियो।

अंक तालिकाको शीर्ष ४ मा आउन कर्णालीलाई अबका खेलमा जित्नु पर्ने दबाब छ। यता ब्याटर कुशल मल्लको कप्तानीमा रहेको चितवनले आफ्नो सुरुवाती दुवै खेल जितेको छ। पहिलो खेलमा काठमाडौंलाई ५ विकेट र दोस्रो खेलमा पोखरालाई ८७ रनको फराकिलो अन्तरले हराएको चितवन अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ।

आज नै हुने दोस्रो खेलमा जितविहिन लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ।

दोस्रो खेल खेल्न लागेको रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग २ विकेटले हारेको थियो। हाईस्कोरिङ खेलमा हार व्यहोरेको लुम्बिनी ब्याटिङमा बलियो देखिन्छ।

यता कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुवाती दुई खेल गुमाएको थियो। पहिलो खेलमा चितवनसँग र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटको हार व्यहोरेको पोखरा पहिलो जितको खोजीमा छ। खेलाडीको सूची हेर्दा ब्याटिङमा बलियो देखिएपनि अघिल्ला दुवै खेलमा पोखराको ब्याटिङ निराशाजनक छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>