समाचार

भाँडा माझ्दै पढेका पदम बने मावि तहको स्थायी शिक्षक

Banner

बैतडी, मंसिर ११-

घरायसी आर्थिक अवस्थाले बिचमै पढाइ छाडेर भारत जाने सुदूरपश्चिममा थुप्रै युवा छन् । तीमध्ये एक पदम विश्वकर्मा हुनुहुन्छ । उहाँ भारतमा ज्याला मजदुरी गर्दै अध्ययन गरेर नेपालमा शिक्षक सेवा आयोग उत्तीर्ण गरी माध्यमिक तहको अङ्ग्रेजी शिक्षक बन्न सफल हुनुभएको छ ।

यो समामचार गोरखापत्र दैनिकमा छ, भारतमा मजदुरी गरेर पढाइ गर्नुभएका दिपायल सिलगढी नगरपालिका–८, डोटीका पदम विश्वकर्मा मावि तहको स्थायी शिक्षक भएर अङ्ग्रेजी पढाउन बैतडी आइपुग्नुभएको छ । उहाँको पदस्थापन बैतडीको मेलौली नगरपालिका–४, तिताबैस्थित विजयपुर माविमा भएको छ ।

बुसर्ट, खैरो पाइन्ट र कालो उनीको टोपीमा शिक्षा विकास तथा समन्वय एकाइ बैतडीमा भेटिनु भएका पदम नियुक्तिपत्र बुझ्ने बेला विगत सम्झेर भावुक बन्नुभयो । “यो खुसी बुवाले देख्न पाउनुभएन,” पदमले भन्नुभयो, “मिर्गौलाको रोग लागेर बुवा एक वर्षअघि बित्नुभयो । उपचार गर्ने खर्च भएको भए सायद बाच्नुहुन्थ्यो । ४८ वर्षकै उमेरमा बुवाको निधन भयो ।”

यी सबै सफलताका पछाडि बुवाको योगदान र कहालीलाग्दो सङ्घर्षपूर्ण विगत रहेको पदमले बताउनुभयो । गरिबीले खानलगाउन नपाएपछि उहाँका पिता दिलु कामी सुदूरपश्चिमबाट भारतको मुम्बई पुग्नुभयो । २०६२ सालमा बुवासँगै नौ वर्षका पदम पनि मुम्बई पुग्नुभयो । बुवासँगै होटलमा भाँडा माझ्ने काममा पदम लाग्नुभयो । मुम्बईमा पनि स्कुल रहेछ भनेपछि बुवाको मन पग्लियो । पदमले मुम्बईको सेन्ट जुड्स विद्यालयमा कक्षा ४ मा पढ्ने मौका पाउनुभयो । “भर्ना भएको त्यो स्कुल नाम मात्रको थियो,” पदमले सुनाउनुभयो, “कक्षा ३ र ४ मा जम्मा तीन जना विद्यार्थी थियौँ । त्यहाँ जेनतेन कक्षा ४ सम्म पढेँ । त्यसपछि अलिकति राम्रो स्कुल भनेर बुवाले द डनबस्को हाइस्कुलमा भर्ना गरिदिनुभयो । कक्षा ५ र ६ को पढाइ यहीँबाट सकेँ ।”

पदमले अगाडि भन्नुभयो, “बुवा राति चौकीदारी गर्नुहुन्थ्यो । दिउँसो गाडी धुने, होटलमा भाँडा माझ्ने अनि मलाई पढाउनुहुन्थ्यो । मैले पनि बुवालाई काममा सघाउँथे । घरमा पनि खर्च पठाउनुपथ्र्यो । दुई भाइ, एक बहिनी र आमा पनि बुवाकै कमाइले बाँचेका थिए ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>